जय नेपाल पार्टीको बस्दै पहिलो बैठक, के-के हुँदैछ निर्णय?
काठमाडौं । जय नेपाल पार्टीको पहिलो केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठकमा देशव्यापी संगठन निर्माणसहित पार्टीको आगामी कार्यदिशा, कार्यक्रम र रणनीतिबारे ठोस निर्णय गर्ने तयारी गरिएको छ ।
सभापति डा. धवलशम्शेर राणाको नेतृत्वमा गठित जय नेपाल पार्टीको केन्द्रीय कार्यसमितिको बैठक सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बिहान ११ बजे सुरु हुनेछ ।
पार्टीका सचिवालय प्रमुख सगुनसुन्दर लावतीका अनुसार बैठकमा संगठन विस्तारसँगै आगामी राजनीतिक कार्यदिशाबारे छलफल हुनेछ ।
उनले पार्टीले अघि सारेका उद्देश्यअनुसार महत्वपूर्ण निर्णय गरिने बताए । विश्वसनीय राष्ट्रवादी शक्तिको अभाव र आवश्यकता पूर्ति गर्दै एकता र स्थिरता कायम गर्ने तथा आर्थिक समुन्नतिको लक्ष्य हासिल गर्ने उद्देश्यसहित जय नेपाल पार्टी गठन गरिएको पार्टीले जनाएको छ ।
सभापति राणाको नेतृत्वमा गठन भएको पार्टीले निर्वाचन आयोगमा साउन २९ गते दल दर्ता गरेकै दिन स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न इच्छुक प्रतिभाशाली नागरिकलाई पार्टीमा जोडिन आह्वान गरेको थियो ।
त्यस्तै, संवैधानिक राजसंस्था, सनातन धर्म, भ्रष्टाचार न्यूनीकरण र सुशासनका पक्षधर दल, समूह तथा अभियानहरूलाई एकताबद्ध भएर अघि बढ्न पनि पार्टीले आह्वान गरेको थियो ।
आजको बैठकले संगठन विस्तारको ठोस योजना बनाउनुका साथै आगामी राजनीतिक गतिविधि र रणनीतिलाई समेत टुंगो लगाउने अपेक्षा गरिएको छ ।
