`

खेलाडीको मैदानमा पशु चौपाया चर्छन्

Nepal One HD ४ भदौ २०८३ १४:५८
खेलकुद

काठमाडौं। बर्दिया जिल्ला खेलकुद विकास समितिको अधीनमा रहेको गुलरिया–४ तुलापुरस्थित कभर्ड हल तथा खेलकुद मैदान लामो समयदेखि बेवास्तामा पर्दा अस्तव्यस्त बनेको छ ।

खेलकुदका लागि निर्माण गरिएको मैदान अहिले पशु चराउने तथा सवारीसाधन सिकाउने स्थलमा परिणत भएको खेलाडीहरूको गुनासो छ ।

कभर्ड हलमा पिउने पानी र विद्युत् सुविधा छैन । शौचालयसमेत तोडफोड भएपछि खेलाडीलाई अभ्यासका क्रममा आधारभूत सुविधा उपयोग गर्न कठिनाइ भएको छ । सुरक्षाको उचित व्यवस्था नहुँदा मैदानको तारबारसमेत भत्काइएको छ ।

खेलाडीहरूका अनुसार कभर्ड हलको अवस्था दिनप्रतिदिन बिग्रँदै गए पनि जिल्ला खेलकुद विकास समितिले नियमित अनुगमन र संरक्षणमा पर्याप्त ध्यान दिएको छैन । खेलाडीका लागि प्रशिक्षकको समेत अभाव हुँदा नियमित अभ्यास प्रभावित भएको उनीहरूको भनाइ छ ।

कभर्ड हलमा कर्मचारीका लागि निर्माण गरिएको आवास भए पनि लामो समयदेखि प्रयोगमा छैन । कर्मचारी नबस्दा आवास जीर्ण बन्दै गएको छ । शौचालय अज्ञात समूहले तोडफोड गरेको लामो समय भइसक्दा पनि मर्मत हुन सकेको छैन ।

कभर्ड हल तथा मैदानमा पानीको व्यवस्था नहुँदा खेलाडीहरू नजिकैको बबई क्याम्पससम्म पुग्नुपर्ने अवस्था रहेको उनीहरू बताउँछन् । मैदानमा पशु चौपाया प्रवेश गर्ने गरेका कारण खेलाडीलाई अभ्यास गर्नसमेत समस्या हुने गरेको छ ।

खेलकुद विकास समितिको सात बिघाभन्दा बढी जग्गामा २०३६ सालमा कभर्ड हल र खेलकुद मैदान निर्माण गरिएको थियो । कर्मचारीका लागि निर्माण गरिएको आवास तथा कार्यालयसमेत करिब दुई दशकदेखि प्रयोगमा छैनन् ।

समितिका अनुसार विद्युत्को रकम भुक्तानी हुन नसकेपछि लामो समयदेखि विद्युत् आपूर्ति बन्द छ । कभर्ड हल र मैदानको नियमित मर्मतसम्भारका लागि पर्याप्त बजेट उपलब्ध नभएको समितिको भनाइ छ ।

जिल्ला खेलकुद विकास समितिका प्रमुख भुपेन्द्र पुनमगरले बजेट अभावका कारण जीर्ण संरचनाको मर्मत गर्न नसकिएको बताए । प्रशिक्षकको अभावबारे भने केन्द्रमा पटक–पटक माग गरिए पनि आवश्यक जनशक्ति उपलब्ध हुन नसकेको उनको भनाइ छ ।

बर्दियामा आयोजना हुने फुटबल, भलिबल, कराते, तेक्वान्दो, दौडलगायतका विभिन्न खेलकुद प्रतियोगिता यही कभर्ड हल तथा मैदानमा हुँदै आएका छन् । तर प्रतियोगिताको समयमा मात्र संरचनाको सरसफाइ र व्यवस्थापनमा ध्यान जाने गरेको खेलाडीहरूको गुनासो छ ।

कभर्ड हलको ट्र्याक निर्माण भएको करिब पाँच वर्षमै जीर्ण अवस्थामा पुगेको बताइएको छ । लामो समयसम्म संरक्षण र मर्मत नहुँदा खेलकुद पूर्वाधारको अवस्था कमजोर बनेको छ ।

मंसिर १६ देखि २९ गतेसम्म दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने तयारी भइरहेका बेला बर्दियामा खेलाडीका लागि आवश्यक पूर्वाधार र प्रशिक्षकको अभाव थप चुनौती बनेको छ ।

जिल्लामा हाल जुडो र तेक्वान्दोबाहेक अधिकांश खेलका प्रशिक्षक छैनन् । एथलेटिक्स, कराते, उसु, फुटबल, क्रिकेट, खोखो, ब्याडमिन्टन, कुस्ती, बक्सिङ तथा भारोत्तोलनलगायतका खेल प्रशिक्षकविहीन अवस्थामा छन् ।

जिल्ला खेलकुद विकास समितिका अनुसार उसु, कराते, तेक्वान्दोलगायत चार प्रशिक्षकको दरबन्दी रिक्त छ । प्रशिक्षक नियमित नआउँदा खेलाडीले व्यवस्थित रूपमा अभ्यास गर्न नपाएको गुनासो छ ।

खेलाडीहरूले कभर्ड हलको तत्काल मर्मत, विद्युत् र पिउने पानीको व्यवस्था, शौचालय सञ्चालन, मैदानमा पशु चौपाया प्रवेश रोक्न तारबार मर्मत तथा आवश्यक खेल प्रशिक्षकको व्यवस्था गर्न माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *