रास्वपाको मधेश किचलो मिलाउन जिल्ला दौडाहामा रवि
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने मधेश प्रदेशका जिल्लामा पार्टी अधिवेशनको वातावरण बनाउन भ्रमणमा निस्कने भएका छन् ।
रास्वपाले अन्य प्रदेशको अधिवेशन सम्पन्न गरिसके पनि मधेश प्रदेशको अधिवेशन भने हुन सकेको छैन ।
मधेशका जिल्लामध्ये पर्सामा नयाँ नेतृत्व चयन भइसकेको छ । तर, अन्य जिल्लामा अधिवेशन हुन सकेको छैन । केही जिल्लामा अधिवेशन प्रक्रिया सुरु भए पनि विवाद उत्पन्न भएपछि स्थगित गरिएको थियो ।
जिल्ला तहअन्तर्गतका पार्टी संरचनाको अधिवेशनसमेत अधिकांश स्थानमा बाँकी रहेको रास्वपाले जनाएको छ । अन्य ६ प्रदेशमा अधिवेशन सम्पन्न भइसक्दा मधेशमा भने आन्तरिक विवादका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन ।
रास्वपा सभापति लामिछानेले केन्द्रीय महाधिवेशन सम्पन्न भएपछि नै मधेशमा बाँकी अधिवेशन गराउने विषयमा सक्रिय हुने बताएका थिए । यसैक्रममा बुधबार मधेश प्रदेशका केही सांसदले लामिछानेसँग भेट गरी अधिवेशनको विषयमा छलफल गरेका छन् ।
भेटका क्रममा लामिछानेले भदौ १० गतेपछि मधेशका जिल्लाको भ्रमण गर्ने जानकारी गराएको रास्वपा मधेश प्रदेशका एक सांसदले बताए । उनका अनुसार सभापतिको भ्रमणको मुख्य उद्देश्य अधिवेशन हुन नसकेका जिल्लामा पार्टीको आन्तरिक वातावरण सहज बनाउँदै अधिवेशन प्रक्रिया अघि बढाउनु हो ।
लामिछाने चितवनबाट पर्साको ठोरी हुँदै मधेशका विभिन्न जिल्लामा पुग्ने तयारीमा रहेको बताइएको छ । भ्रमणका क्रममा स्थानीय नेता तथा कार्यकर्तासँग छलफल गरी अधिवेशनका लागि आवश्यक वातावरण बनाउने तयारी रहेको पार्टीका नेताहरूको भनाइ छ ।
यसअघि रास्वपाको निर्वाचन आयोगले अधिवेशन हुन नसकेका जिल्लामा प्रक्रिया अघि बढाउन परिपत्र गरिसकेको छ ।
सभापतिको जिल्ला भ्रमणसँगै रोकिएको अधिवेशन प्रक्रिया पुनः अघि बढ्ने अपेक्षा गरिएको छ ।
