`

आजदेखि जमलमा तीनदिने लोकदोहोरी मेला, शुक्रबार भुवन केसीदेखि दुर्गेश थापासम्म आउने

Nepal One HD ५ भदौ २०८३ ७:४८
मनोरञ्जन

काठमाडौं — नेपाली लोकसंगीतको माहोल तताउने तीनदिने ‘लोकदोहोरी मेला’ आजदेखि काठमाडौंको जमलस्थित टप दरबार रोधी क्लबमा सुरु हुँदैछ। टप दरबार रोधी क्लबको ग्रान्ड ओपनिङको अवसरमा आयोजना हुन लागेको मेलामा लोकदोहोरी क्षेत्रका चर्चित कलाकारदेखि चलचित्र क्षेत्रका स्थापित व्यक्तित्वसम्मको बाक्लो उपस्थिति रहने भएको छ।

भदौ ५ देखि ७ गतेसम्म चल्ने मेलाको पहिलो दिन भुवन केसी, दिनेश डीसी, दुर्गेश थापा, नीर शाह, शिव श्रेष्ठ, ज्योति मगर, कृष्ण कँडेल, दुर्गा रायमाझी, नारायण रायमाझी, रीता थापा, प्रेम लोचन, सम्झना लामिछाने, सुरेश अधिकारी, पुष्कल शर्मा, चन्द्र शर्मा लगायतका कलाकार तथा विशिष्ट व्यक्तित्वको उपस्थिति रहने आयोजकले जनाएको छ।

लोकदोहोरी तथा नेपाली कला–संस्कृतिसँग जोडिएका स्थापित कलाकारहरूको जमघटका कारण मेलालाई विशेष रूपमा हेरिएको छ।

तीन दिनसम्म चल्ने मेलामा लोकसंगीत र दोहोरीका चर्चित कलाकारहरूको प्रत्यक्ष प्रस्तुति, सांगीतिक कार्यक्रम तथा विभिन्न सांस्कृतिक गतिविधि सञ्चालन हुनेछन्। टप दरबार रोधी क्लबमा नियमित रूपमा आबद्ध करिब ६० जना कलाकारको समेत विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।

टप दरबार रोधी क्लबका सञ्चालक अशोक गिरीले आफूले करिब २५ वर्षदेखि दोहोरी तथा रोधी क्षेत्रमै काम गर्दै आएको उल्लेख गर्दै नयाँ तथा स्थापित दुवै पुस्ताका कलाकारलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले मेला आयोजना गरिएको बताए।

‘मैले करिब २५ वर्षदेखि दोहोरी र रोधी क्षेत्रमै काम गर्दै आएको छु। यो अवधिमा धेरै कलाकारलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिन सकेँ। अब टप दरबार रोधीमार्फत नेपाली लोकसंगीत र कलाकारितालाई अझ व्यवस्थित ढंगले अगाडि बढाउने हाम्रो प्रयास हो,’ गिरीले भने, ‘स्थापित कलाकारसँगै नयाँ प्रतिभाले पनि यहाँ आफ्नो क्षमता देखाउने अवसर पाउनेछन्।’

उनका अनुसार टप दरबार रोधीलाई केवल मनोरञ्जनको स्थलका रूपमा नभई नेपाली लोकसंगीत, कलाकार र दर्शकबीचको साझा गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। रोधी तथा दोहोरी व्यवसायप्रति रहेको परम्परागत धारणालाई परिवर्तन गर्दै यस क्षेत्रलाई व्यवस्थित, मर्यादित र पारिवारिक वातावरणमा अगाडि बढाउने आफूहरूको उद्देश्य रहेको उनले बताए।

‘रोधी भनेको केवल मनोरञ्जन गर्ने ठाउँ मात्र होइन, हाम्रो लोकसंस्कृति र संगीतसँग जोडिएको एउटा परम्परा पनि हो। त्यसैले यसलाई व्यवस्थित, सभ्य र पारिवारिक वातावरणमा अगाडि बढाउनुपर्छ भन्ने हाम्रो सोच हो,’ गिरीले भने।

करिब ७ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको टप दरबार रोधी क्लबमा एकपटकमा करिब २०० जना अट्ने क्षमता रहेको छ भने प्रत्यक्ष रूपमा १०० भन्दा बढीलाई रोजगारी प्रदान गरिएको क्लबले जनाएको छ। नेपाली मौलिक परिकार, स्तरीय सेवा, आधुनिक प्रविधि, प्रत्यक्ष सांगीतिक प्रस्तुति तथा पारिवारिक वातावरणलाई क्लबका प्रमुख विशेषताका रूपमा विकास गरिएको छ।

मेलामार्फत नेपाली मौलिक लोकसंगीत, कला, संस्कृति तथा रोधी परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउने र स्थापित कलाकारसँगै नयाँ प्रतिभालाई अवसर दिने आयोजकको लक्ष्य छ।

टप दरबार रोधी क्लबको ग्रान्ड ओपनिङ तथा लोकदोहोरी मेला आजदेखि भदौ ७ गतेसम्म प्रत्येक दिन साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रम काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा आयोजना हुँदैछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *