स्वास्थ्य परीक्षणपछि इमरान खान अदियाला जेल फर्काइए
एजेन्सी। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि इस्लामाबादस्थित शिफा इन्टरनेसनल अस्पताल लगिएको केही समयपछि शुक्रबार रावलपिन्डीस्थित अदियाला जेलमै फिर्ता गरिएको छ।
पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक खानको स्वास्थ्य अवस्थाको विस्तृत परीक्षण गर्न सर्वोच्च अदालतले सङ्घीय सरकारलाई निर्देशन दिएको थियो। अदालतको आदेशअनुसार उनलाई दुई दिनभित्र निजी अस्पतालमा लगेर आवश्यक स्वास्थ्य परीक्षण गराउन भनिएको थियो।
स्थानीय सञ्चारमाध्यमका अनुसार कडा सुरक्षा व्यवस्थाबीच खानलाई अस्पताल पुर्याइएको थियो। उनको आवागमनलाई ध्यानमा राख्दै अस्पताल आसपास ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। पित्रास बुखारी रोड र सर्भिस रोड साउथसमेत केही समय सर्वसाधारणका लागि बन्द गरिएको थियो।
खानलाई अस्पताल लैजान इस्लामाबाद राजधानी क्षेत्र प्रहरी, नगर प्रशासन, पाकिस्तान रेन्जर्स र जेल प्रशासनसहितका सुरक्षा निकायबाट आठ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ।
अस्पतालमा आवश्यक स्वास्थ्य जाँच तथा प्रारम्भिक चिकित्सकीय परीक्षण पूरा भएपछि उनलाई शुक्रबार बिहानै अदियाला जेल फर्काइएको अधिकारीहरूले जनाएका छन्।
सन् २०२३ देखि जेलमा रहेका खान तोशाखाना मुद्दासँग सम्बन्धित १४ वर्षको सजाय भोगिरहेका छन्। पछिल्लो समय उनको रक्तचापमा उतारचढाव देखिएपछि स्वास्थ्य अवस्थालाई लिएर चिन्ता बढेको थियो। जेलमा गरिएको पछिल्लो स्वास्थ्य परीक्षणका अभिलेखमा पनि केही स्वास्थ्यसम्बन्धी समस्या देखिएको उल्लेख गरिएको छ।
सर्वोच्च अदालतको आदेशपछि गरिएको पछिल्लो परीक्षणपछि भने उनलाई पुनः जेलमै फिर्ता गरिएको हो।
