दर्ता हुन सकेन देउवा-खड्काको रिट
काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा पुर्याएको रिट शुक्रबार दर्ता भएन ।
संस्थापन पक्षले एकलौटी रूपमा अघि बढाएको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा र खड्काले छुट्टाछुट्टै रिट पेस गरेका थिए । तर, दिउँसो खाजा समयपछि पेस भएका दुवै रिटको अध्ययन नसकिएको भन्दै सर्वोच्च प्रशासनले दर्ता नगरेको बताइएको छ ।
तर, रिट दर्ता नहुनुको कारण प्रशासनले भनेजस्तो अध्ययन मात्रै नभएको स्रोतको दाबी छ ।
सर्वोच्चनिकट स्रोतका अनुसार शुक्रबार प्रधानन्यायाधीश डा. मनोज शर्मा र मुख्य रजिस्ट्रार विमल पौडेल दुवै अदालतमा उपस्थित थिएनन् । महत्त्वपूर्ण राजनीतिक विषय जोडिएको रिट भएकाले प्रशासनका प्रमुख तथा प्रधानन्यायाधीशको अनुपस्थितिमा दर्ता गर्न नचाहिएको स्रोतको भनाइ छ ।
रिट लिएर पुगेकाहरूलाई सर्वोच्च प्रशासनले सोमबार आउन भनेको छ । अब देउवा र खड्काको रिट सोमबार मात्रै दर्ता हुने सम्भावना छ ।
देउवाका तर्फबाट कांग्रेस नेता दीपक खड्का वारेस बनेर सर्वोच्च पुगेका थिए भने पूर्णबहादुर खड्काका तर्फबाट अधिवक्ता श्रवणकुमार रिट लिएर पुगेका थिए ।
दुवै रिटमा कांग्रेसको १५औँ महाधिवेशनसम्बन्धी संस्थापन पक्षले अघि बढाएको प्रक्रिया तथा कार्यतालिका रोक्न उत्प्रेषणको आदेश माग गरिएको छ ।
कांग्रेसभित्र महाधिवेशनको मिति र प्रक्रियालाई लिएर विवाद चर्किरहेका बेला देउवा र खड्का सर्वोच्च पुगेका हुन् ।
संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रिया आफूहरूसँग पर्याप्त छलफल नगरी एकपक्षीय रूपमा अघि बढाइएको भन्दै इतर समूहले विरोध गर्दै आएको छ ।
