`

मजाक गरिरहने गृहमन्त्रीको अर्को मजाक

Nepal One HD ५ भदौ २०८३ १८:२३
बिशेष

काठमाडाैं। गृहमन्त्री सुधन गुरुङले एउटा कार्यक्रममा दिएको अभिव्यक्तिले राजनीतिक वृत्तमा बटुलिरहेको छ। उनले आफूलाई कहिलेकाहीँ गृहमन्त्री हुँ जस्तो नै नलाग्ने भन्दै व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) लाई ‘म गृहमन्त्री हुँ है?’ भनेर सोध्ने र उनीहरूले ‘हो मन्त्रीज्यू’ भन्ने गरेको बताएका छन्। 

सामान्य ठट्टा वा हल्का शैलीमा गरिएको टिप्पणीका रूपमा यसलाई बुझ्न सकिएला। तर, देशको समग्र सुरक्षा संयन्त्रको नेतृत्व गरिरहेका गृहमन्त्रीबाट आउने यस्तो अभिव्यक्तिको अर्थ र प्रभाव भने गम्भीर हुन्छ।

गृह मन्त्रालय कुनै सामान्य मन्त्रालय होइन। यो नागरिकको सुरक्षा, सार्वजनिक शान्ति, राष्ट्रिय सम्पत्ति तथा महत्वपूर्ण संरचनाको संरक्षणसँग प्रत्यक्ष जोडिएको संवेदनशील निकाय हो। देशभित्र हुने आपराधिक गतिविधिको नियन्त्रणदेखि सार्वजनिक सुरक्षा, शान्ति-व्यवस्था र सम्भावित संकटको व्यवस्थापनसम्मको महत्वपूर्ण जिम्मेवारी यही मन्त्रालयअन्तर्गत रहन्छ।

गृहमन्त्री स्वयंले ‘मलाई त गृहमन्त्री हुँ जस्तो पनि लाग्दैन’ भन्नुले उनको व्यक्तिगत भावनाभन्दा पर गएर संस्थागत प्रश्न जन्माउँछ। नागरिकले संकटको समयमा राज्यको सुरक्षा संयन्त्रप्रति भरोसा गर्नुपर्ने हुन्छ। सुरक्षाको सर्वोच्च राजनीतिक जिम्मेवारी सम्हालेका व्यक्तिको अभिव्यक्तिले त्यही भरोसालाई कमजोर बनाउने अवस्था आउनु हुँदैन।

गुरुङको उक्त अभिव्यक्तिको चर्चा भइरहेका बेला सुनसरीको देवानागन्ज र कप्तानगन्जमा भएको घटनाले यस विषयलाई झन् गम्भीर बनाउछ। स्थानीय तहमा सुरु भएको विवादले हिंसात्मक रूप लिँदा त्यसको प्रभाव सुनसरीमा मात्र सीमित रहेन। घटनाको असर अन्य जिल्लासम्म फैलियो र चार जना युवाले प्रहरीको गोलीबाट ज्यान गुमाउनुपर्‍यो।

यस्ता घटना हुनु नदिन पूर्वतयारी गर्ने, सम्भावित जोखिमको पहिचान गर्ने, समयमै सुरक्षा संयन्त्र परिचालन गर्ने र नागरिकको ज्यान जोगाउने जिम्मेवारी राज्यको हो। त्यसमा पनि गृह मन्त्रालयको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ। परिस्थिति बिग्रिएपछि बल प्रयोग गर्नेभन्दा पहिले नै तनावको कारण पहिचान गरी संवाद, समन्वय र प्रभावकारी सुरक्षा व्यवस्थामार्फत अवस्था नियन्त्रणमा लिन सक्नु गृह प्रशासनको सफलता हो।

सामान्य विवाददेखि आन्दोलन, दंगा, हिंसा, विद्रोह तथा सामाजिक अस्थिरतासम्मका घटनामा गृह मन्त्रालयको भूमिका निर्णायक हुन्छ। त्यसैले गृहमन्त्रीले आफ्नो पदलाई केवल एउटा राजनीतिक जिम्मेवारीका रूपमा होइन, नागरिकको जीवन र राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील दायित्वका रूपमा बुझ्न आवश्यक छ।

गृहमन्त्रीलाई आफ्नो पदको बोध हुनु केवल उनको व्यक्तिगत आत्मविश्वासको विषय होइन। यो राज्यप्रतिको नागरिकको विश्वास, सुरक्षा संयन्त्रको मनोबल र समग्र राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हो। त्यसैले गृहमन्त्री गुरुङले आफ्नै जिम्मेवारीप्रतिको दृष्टिकोणलाई गम्भीरतापूर्वक पुनर्विचार गर्नुपर्ने देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *