`

जमलमा तीन दिन गुञ्जिएको लोकदोहोरी मेला आज सकिँदै, प्रकाश सपुतदेखि रामजी खाँणसम्मको प्रस्तुति

Nepal One HD ७ भदौ २०८३ १९:४९
मनोरञ्जन

काठमाडौं — जमलस्थित टप दरबार रोधी क्लबमा तीन दिनदेखि गुञ्जिरहेको लोकदोहोरीको माहोल आज समापन हुँदैछ। क्लबको ग्रान्ड ओपनिङको अवसरमा आयोजित ‘लोकदोहोरी मेला २०८३’ को अन्तिम दिन आज प्रकाश सपुत, रामजी खाँण, शान्ति रानी परियार, नारायण रायमाझीलगायत करिब एक दर्जन चर्चित कलाकारले प्रस्तुति दिने भएका छन्।

भदौ ५ गते भव्य उद्घाटनसँगै सुरु भएको मेलाले पहिलो दिनदेखि नै दर्शकको उल्लेख्य साथ पाएको थियो। चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता दिनेश डीसीले मेलाको औपचारिक उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा सहभागी अतिथि कलाकार तथा विशिष्ट व्यक्तित्वलाई बाजागाजासहित स्वागत गरिएको थियो।

दुर्गेश थापा, बद्री पंगेनीलगायत कलाकार तथा अतिथिको उपस्थितिले उद्घाटन समारोहलाई थप विशेष बनाएको थियो। त्यसपछि सुरु भएको सांगीतिक कार्यक्रममा ज्योति मगर, प्रीति आले, विश्व दोङ, बद्री पंगेनीलगायत दर्जनौँ कलाकारले प्रस्तुति दिएका थिए।

लोकदोहोरीका चर्चित कलाकारको प्रस्तुति हेर्न दर्शकको बाक्लो उपस्थिति रह्यो। विश्वज्योति मलको चौथो तलास्थित टप दरबार रोधीको हल दर्शकले खचाखच भरिएपछि कतिपय दर्शकलाई कार्यक्रमस्थलबाट फर्काउनुपर्ने अवस्थासमेत आएको थियो। कलाकारका प्रस्तुतिमा दर्शकले गीत गाउँदै, नाच्दै र ताली बजाउँदै साथ दिएका थिए।

तीन दिनसम्म सञ्चालन भएको मेलामा लोकदोहोरी क्षेत्रका स्थापित कलाकारसँगै नयाँ पुस्ताका कलाकारले समेत प्रस्तुति दिएका छन्। टप दरबार रोधीमा नियमित रूपमा आबद्ध कलाकारको सहभागिताले पनि कार्यक्रमलाई निरन्तर सांगीतिक माहोलमा राखेको थियो।

मेलाको अन्तिम दिन आज पनि चर्चित कलाकारको प्रस्तुति रहनेछ। प्रकाश सपुत, रामजी खाँण, शान्ति रानी परियार, नारायण रायमाझीलगायत कलाकारले प्रस्तुति दिने भएपछि समापन साँझमा पनि दर्शकको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।

टप दरबार रोधी क्लबले नेपाली मौलिक लोकसंगीत, कला, संस्कृति तथा रोधी परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरेको जनाएको छ। स्थापित कलाकारसँगै नयाँ प्रतिभालाई मञ्च उपलब्ध गराउने र कलाकार तथा दर्शकलाई एउटै थलोमा जोड्ने उद्देश्यसमेत मेलासँग जोडिएको छ।

क्लबका सञ्चालक अशोक गिरी करिब २५ वर्षदेखि दोहोरी तथा रोधी क्षेत्रमा सक्रिय छन्। उनले यसअघि सञ्चालन गरेका विभिन्न दोहोरी साँझ तथा रोधीमार्फत धेरै कलाकारलाई आफ्नो सांगीतिक यात्रा अघि बढाउने अवसर दिएको बताउँदै अब टप दरबार रोधीलाई पनि लोकसंगीत र कलाकारको साझा गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएका छन्।

करिब ७ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको टप दरबार रोधीमा एकपटकमा करिब २०० जना अट्ने क्षमता रहेको छ। क्लबका अनुसार यहाँ प्रत्यक्ष रूपमा १०० भन्दा बढीले रोजगारी पाएका छन्। नेपाली मौलिक परिकार, प्रत्यक्ष सांगीतिक प्रस्तुति, आधुनिक प्रविधि तथा पारिवारिक वातावरणलाई क्लबका प्रमुख विशेषताका रूपमा अघि सारिएको छ।

तीन दिनसम्म साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन भएको लोकदोहोरी मेला आज अन्तिम सांगीतिक प्रस्तुतिसँगै समापन हुँदैछ। पहिलो दिनको भव्य उद्घाटनदेखि दर्शकको खचाखच उपस्थितिसम्म उत्साहजनक बनेको मेलाको अन्तिम साँझमा पनि चर्चित कलाकारको प्रस्तुतिले जमलको सांगीतिक माहोल तताउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *