ताँजाकोट गाउँपालिका कार्यालयमा मध्यराति आगलागी,महत्वपूर्ण कागजात खरानी
काठमाडौं। हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा मध्यराति आगलागी हुँदा महत्वपूर्ण कागजात तथा कार्यालयका सामग्री जलेर नष्ट भएका छन् ।
प्रहरीका अनुसार आइतबार राति करिब पौने २ बजेतिर गाउँपालिकाको कार्यालयमा अचानक आगलागी भएको हो । आगलागी भएको थाहा पाएलगत्तै स्थानीयवासी र प्रहरी टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए ।
गाउँपालिकाका कर्मचारी बस्ने घर नजिकै कार्यालय रहेकाले समयमै स्थानीय र प्रहरी पुगेपछि आगो थप फैलिनबाट रोकिएको स्थानीय व्यवसायी नरवीर थापाले बताए । तर आगलागीबाट कार्यालयभित्र भने ठूलो क्षति पुगेको छ ।
प्रशासन तथा जिन्सी शाखा प्रमुख विष्णुलाल सार्कीका अनुसार प्रारम्भिक रूपमा विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट जिन्सी शाखा, लेखा शाखा र न्यायिक समितिको सचिवालयमा रहेका अधिकांश कागजात तथा सामग्री जलेर नष्ट भएका छन् ।
जिन्सी शाखामा राखिएका ब्याट्री पड्किँदा आगो थप फैलिएको र क्षति बढेको बताइएको छ । भवनमा जडान गरिएका विद्युतीय तार तथा बल्बसमेत जलेका छन् ।
गत वर्ष मात्रै उद्घाटन गरिएको उक्त प्रशासनिक भवनलाई ताँजाकोटमा नमुना भवनका रूपमा लिइन्थ्यो । भवनको तल्लो तलामा जिन्सीलगायत शाखाहरू सञ्चालनमा थिए भने माथिल्लो तलामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतका कार्यकक्ष रहेका थिए ।
आगलागीबाट सरकारी कागजात र कार्यालयका सामग्रीमा ठूलो क्षति पुगेपछि गाउँपालिकाको नियमित प्रशासनिक कामसमेत प्रभावित हुने देखिएको छ ।
आगलागीको वास्तविक कारणबारे भने प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रारम्भिक रूपमा विद्युत् सर्टको आशंका गरिए पनि घटनाको विस्तृत अनुसन्धानपछि मात्रै कारण यकिन हुने प्रहरीले जनाएको छ ।
