`

गरिमा हत्या प्रकरणमा नयाँ मोड : अभियुक्तको भिडियो भाइरल गर्ने हवल्दार पक्राउ

Nepal One HD ८ भदौ २०८३ १५:३७
बिशेष

बारा। तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान गरिरहेका प्रहरी नै विवादमा तानिएका छन् । अभियुक्त किशोरको बयान खिचेर सामाजिक सञ्जालमा पुर्‍याएको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रहरी हवल्दार कुमार विक रहेको स्रोतले जनाएको छ । उनलाई हिरासतमा राखेर फौजदारी कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिएका छन् ।

गरिमा हत्याको अनुसन्धानकै क्रममा अभियुक्तको बयानको भिडियो खिचिएको थियो । प्रहरीको अनुसन्धानमा रहेको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीमाथि नै प्रश्न उठेको थियो । अनुसन्धानको गोपनीयता तोडेर भिडियो कसरी बाहिरियो भन्ने विषयमा प्रहरी प्रधान कार्यालयदेखि मधेश प्रदेश प्रहरी कार्यालयसम्मले चासो देखाएका थिए ।

भिडियो खिच्ने क्रममा पाँच जना प्रहरी देखिएको बताइएको छ । विक पक्राउ परे पनि अन्य प्रहरीको भूमिकामाथि समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अभियुक्तको बयान रेकर्ड गर्ने अधिकार, भिडियो खिच्नुको उद्देश्य, भिडियो कसरी प्रहरीको नियन्त्रणबाहिर पुग्यो र त्यसलाई सामाजिक सञ्जालमा पुर्‍याउने व्यक्ति को हो भन्ने विषय अहिले अनुसन्धानको घेरामा छ ।

गरिमा प्रकरणमा सामाजिक सञ्जालमा फैलिएको भिडियोले अपराध अनुसन्धानलाई समेत नयाँ मोड दिएको छ ।

भिडियोमा देखिएको बयानका आधारमा प्रहरीले थप एक नाबालकलाई नियन्त्रणमा लिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–२ का १४ वर्षीय प्रदीप खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार यसअघि पक्राउ परेका सुमन थापाले बयानका क्रममा प्रदीपको नाम लिएका थिए । घटनामा उनको भूमिका रहेको दाबी बयानमा आएपछि प्रहरीले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

खड्कालाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको छ । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टका अनुसार उनको भूमिकाबारे थप अनुसन्धान भइरहेको छ ।

यससँगै गरिमा चौधरी हत्याकाण्डमा पक्राउ पर्नेहरूको संख्या नौ पुगेको छ । तर, पक्राउ परेका सबैको भूमिका एउटै हो भन्ने निष्कर्षमा प्रहरी पुगेको छैन ।

गरिमाको शव फेला परेपछि प्रहरीले सुरुमा सुमन थापा र प्रोग्रेस चौधरीलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा प्राप्त सूचना, बयान र प्रमाणका आधारमा थप व्यक्तिहरू नियन्त्रणमा लिइएका हुन् ।

पीडित परिवारले दिएको पूरक जाहेरीपछि प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको थियो । पछिल्लो समय सुमनको बयानमा नाम आएपछि प्रदीपसमेत प्रहरीको नियन्त्रणमा परेका हुन् ।

घटनामा बालिकामाथि सामूहिक बलात्कार भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । तर, अनुसन्धान पूरा नभएसम्म यसबारे अन्तिम निष्कर्षमा पुग्न नसकिने प्रहरीको भनाइ छ ।

पक्राउ परेकाहरूको बयान, घटनास्थलबाट प्राप्त भौतिक प्रमाण तथा प्राविधिक अनुसन्धानलाई आधार बनाएर प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउने प्रयास गरिरहेको छ ।

गरिमा प्रकरणमा दोषी पत्ता लगाउने जिम्मेवारी पाएको प्रहरी नै अभियुक्तको भिडियो बाहिरिएको विषयमा अनुसन्धानको घेरामा परेपछि घटनाले अर्को रूप लिएको छ ।

अनुसन्धानकै क्रममा रहेका नाबालकको बयानको भिडियो सार्वजनिक हुनु सामान्य विषय होइन । यसले अनुसन्धानको गोपनीयता, अभियुक्तको अधिकार र प्रहरीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ ।

प्रतिनिधिसभामा समेत सांसदहरूले यही विषय उठाइसकेका छन् । अनुसन्धानको सामग्री कसरी बाहिरियो, कसले खिच्यो र कसले सार्वजनिक गर्‍यो भन्ने विषयमा तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *