`

भाेटेकाेशीमा भीषण बाढीपछि देउवाद्वारा उच्च सतर्कता अपनाउन अपिल

Nepal One HD १० भदौ २०८३ ११:४२
बिशेष

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रसुवा हुँदै भाेटेकाेशी नदीमा आएको भीषण बाढीका कारण नदी आसपासका बस्तीमा जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेका छन्।

देउवाले एक अपिल जारी गर्दै रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत त्रिशूली नदी किनारका क्षेत्रमा बाढीको असर पर्न सक्ने भएकाले स्थानीयवासीलाई समयमै सुरक्षित स्थानमा जान आग्रह गरेका हुन्।

उनले नदी आसपासका बस्तीमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन अनुरोध गरेका छन्। साथै, विपद्को अवस्थालाई ध्यानमा राख्दै राज्यका सम्पूर्ण सुरक्षा निकायलाई द्रुत उद्धारमा परिचालन गर्न सरकारसँग आग्रह गरेका छन्।

बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन नेपाली कांग्रेससहित सबै राजनीतिक दल, युवा तथा नागरिक समाजलाई स्थानीय प्रशासनसँग समन्वय गरी आ–आफ्नो क्षेत्रमा परिचालन हुन पनि देउवाले अपिल गरेका छन्।

‘रसुवादेखि नुवाकोट, धादिङ, चितवनलगायतका त्रिशूली नदी किनार क्षेत्रमा असर पुग्न सक्ने भएकाले समयमै सुरक्षित रहनुहुन र राज्यका सम्पूर्ण सुरक्षा निकायहरूलाई द्रुत उद्धारमा परिचालन गर्न आग्रह गर्दछु,’ देउवाले भनेका छन्।

उनले विपद्को यस घडीमा सबै पक्ष मिलेर नागरिकको जीवनरक्षा र उद्धारमा जुट्नुपर्नेमा जोड दिएका छन्।

देउवाले आफ्नो अपिलको अन्त्यमा ‘जय नेपाल’ भनेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *