गाउँपालिका र प्रहरी कार्यालयसमेत बग्यो
काठमाडौं । रसुवाको गोसाईंकुण्ड गाउँपालिकामा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीले गाउँपालिका कार्यालय, बजार, बस्ती र प्रहरी कार्यालयसमेत बगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईले बताएका छन्।
भट्टराईका अनुसार बाढीबाट भएको क्षतिको अहिले नै यकिन गर्न सक्ने अवस्था छैन। बाढीले गाउँपालिका कार्यालय नै बगाएको भन्दै उनले बजार तथा बस्तीमा समेत ठूलो क्षति पुगेको जानकारी दिए।
‘अनुमान लगाउन सक्ने स्थिति छैन। गाउँपालिका कार्यालय नै बगाइदिएको छ। बजार पूरै बगायो। बस्ती बगायो। हाम्रो पालिकास्थित प्रहरी कार्यालय पनि बगायो। ठूलो जनधनको क्षति भएको छ,’ भट्टराईले भने।
बाढीको तीव्र बहावका कारण स्थानीय संरचनामा व्यापक क्षति पुगेको बताइएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सुरक्षा निकाय र स्थानीय प्रशासन परिचालन भइरहेको छ।
बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने संकलन हुन बाँकी रहेको गाउँपालिकाले जनाएको छ।
