महाविपदमा दलगत स्वार्थभन्दा माथि उठेर एकजुट होऔँ : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाढीपहिरोको महाविपद्का बेला दलगत स्वार्थभन्दा माथि उठेर सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले अहिले राजनीति गर्ने नभई मानवीय सेवामा समर्पित हुने समय भएको बताए ।
उनले उद्धार तथा राहतमा अनुभव भएका सबै राजनीतिक दलका विज्ञ र दक्ष जनशक्तिलाई एकै ठाउँमा ल्याएर एकीकृत रूपमा परिचालन गर्न सरकारसँग आग्रह गरे ।
‘हामीसँग भएका सबैभन्दा राम्रा हात र दिमागलाई एक ठाउँमा ल्याऔँ । अहिले कुनै दलको झन्डा बोकेर हिँड्ने बेला होइन, नेपालको झन्डा बोकेर एकजुट भई अगाडि बढ्ने बेला हो,’ उनले भने ।
लामिछानेले संसद्को सबैभन्दा ठूलो दलको हैसियतमा रास्वपामाथि विपद् व्यवस्थापनमा थप जिम्मेवारी रहेको उल्लेख गर्दै सरकारलाई सहयोग गर्न पार्टी पूर्ण रूपमा तयार रहेको बताए ।
उनले तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक बोलाएर उद्धार, राहत र पुनःस्थापनाका लागि ठोस कार्ययोजना बनाउनुपर्ने प्रस्तावसमेत गरे ।
‘यो संकटको घडीमा हामी सबै एउटै टिम हौँ । समन्वयकारी जिम्मेवारी लिन र सरकारलाई सघाउन हामी चौबीसै घण्टा तयार छौँ,’ लामिछानेले भने ।
बाढीपहिरोबाट प्रभावित नागरिकसम्म राहत पुर्याउन तथा उद्धारलाई प्रभावकारी बनाउन राज्यका सबै संयन्त्र र राजनीतिक दलको स्रोतसाधन तथा जनशक्ति एकीकृत रूपमा परिचालन गर्नुपर्नेमा उनले जोड दिए ।
