भोटेकोशीको बाढीपछि हराए आयुश, छोराको खबर पर्खिरहेका छन् बुबाआमा
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि क्वारेन्टाइन कार्यालय टिमुरेमा कार्यरत २१ वर्षीय खरिदार आयुश खड्का सम्पर्कविहीन भएका छन्।
सल्यानको बागचौर नगरपालिका–पिपलनेटा घर भएका आयुश बुधबार बिहान करिब ९ बजेसम्म अनलाइनमा देखिएका थिए। त्यसपछि भने उनको कुनै खबर छैन। फोनमा सम्पर्क हुन सकेको छैन। आफन्तसँग पनि उनी सम्पर्कमा आएका छैनन्।
चितवनमा रहेकी नातामा फूपु पर्ने लक्ष्मी बुढाथोकी थापाका अनुसार बुधबार बिहान ९ बजेपछि आयुशसँग एकाएक सम्पर्क टुट्यो।
त्यसयता परिवारका लागि हरेक मिनेट भारी बनेको छ।
सल्यानको पिपलनेटास्थित घरमा आयुशका बुबा र आमा छोराको खबरको प्रतीक्षामा छन्। मोबाइल हातमै राखेर उनीहरू छोराको फोन आउने आशामा बसिरहेका छन्। तर, अहिलेसम्म फोन आएको छैन।
‘मेरो छोरा कहाँ छ ? कस्तो अवस्थामा छ ?’- यही प्रश्नले सताइरहेको छ।
भोटेकोशीमा आएको भीषण बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठूलो क्षति पुर्याएको खबरसँगै आयुश सम्पर्कविहीन भएपछि परिवार झनै आत्तिएको छ। छोराको अवस्था थाहा नपाउँदा उनीहरू न निदाउन सकेका छन्, न त मन थाम्न।
घरमा अहिले एउटै प्रार्थना छ-आयुश सकुशल होस्।
बुबाआमा छोराको अनुहार सम्झिरहेका छन्। छोराको आवाज सुन्न आतुर छन्। उनीहरूलाई अहिले अरू केही चाहिएको छैन। छोराले एकपटक फोन गरेर ‘म ठीक छु’ भनिदिए पुग्छ।
आयुशकी फूपु लक्ष्मीले उनको खोजीमा सहयोग गरिदिन सबैसँग भावुक अपिल गरेकी छन्। उनले आयुश फेला परेमा तत्काल परिवारलाई खबर गरिदिन आग्रह गरेकी छन्।
‘आयुश फेला परेपछि ९७६४५०६९१२ मा सम्पर्क गरिदिनुहोला,’ लक्ष्मीले आग्रह गरेकी छन्।
भोटेकोशीको बाढीले धेरै परिवारलाई पीडामा पारेको छ। त्यही बाढीपछि एउटा परिवार भने यतिबेला छोराको एउटा खबरको प्रतीक्षामा छ- आयुश, जहाँ भए पनि सकुशल रहून् र छिट्टै परिवारको सम्पर्कमा आऊन्।
