भोटेकोशी बाढीप्रति शेख हसिनाको दुःख व्यक्त, नेपाललाई सहयोग गर्न बंगलादेशसँग आग्रह
काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले नेपालमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकी छन्।
रसुवाको टिमुरे, स्याफ्रुबेँसी र रसुवागढीलगायत क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको उल्लेख गर्दै उनले विपद्मा ज्यान गुमाउनेका परिवार, नेपाल सरकार तथा नेपाली जनताप्रति समवेदना व्यक्त गरेकी हुन्।
हसिनाले विपद्को समयमा नेपाललाई आवश्यक मानवीय सहयोग उपलब्ध गराउन बंगलादेश सरकारले पहल गर्नुपर्ने बताएकी छन्। आवश्यक परे बंगलादेशको सैदपुर विमानस्थललाई राहत सामग्री तथा मानवीय सहायता व्यवस्थापन र परिचालन गर्ने केन्द्रका रूपमा प्रयोग गर्न दिनुपर्ने उनको धारणा छ।
नेपाल र बंगलादेशबीच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै हसिनाले दुई देशबीच इतिहास, भूगोल, संस्कृति, क्षेत्रीय सहकार्य तथा जनस्तरको सम्बन्धले बलियो मित्रता कायम गरेको बताएकी छन्।
उनले सन् २०१८ मा काठमाडौंमा आयोजित चौथो बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएको स्मरणसमेत गरेकी छन्। त्यस क्रममा आफूले नेपाली जनताको आत्मीयता र आतिथ्य अनुभव गरेको उल्लेख गर्दै उनले प्राकृतिक विपत्तिको सामना गर्दै पुनः उठ्ने नेपाली जनताको साहस र क्षमताप्रति सम्मान व्यक्त गरेकी छन्।
बाढीका कारण प्रभावित नेपाली नागरिकप्रति ऐक्यबद्धता जनाउँदै हसिनाले संकटको यस घडीमा नेपाललाई आवश्यक सहयोग र मानवीय सहायता उपलब्ध गराउन क्षेत्रीय मित्रराष्ट्रहरूले समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताएकी छन्।
