`

अपर त्रिशूली-२१६ को सुरुङबाट दुई जनाको उद्धार, ‘भित्र अझै धेरै मानिस छन्’

Nepal One HD १३ भदौ २०८३ १०:०३
बिशेष

काठमाडाैं। अपर त्रिशूली-२१६ जलविद्युत् आयोजनाको सुरुङबाट आज दुई जनाको सकुशल उद्धार गरिएको छ। सुरुङको मुखबाट हिलोको लेदोमा जोखिम मोलेर क्रलिङ गर्दै उनीहरू बाहिर निस्कन सफल भएका हुन्।

उद्धार गरिएका दुई जनाले सुरुङभित्र अझै धेरै मानिसहरू रहेको बताएका छन्। उनीहरूका अनुसार सुरुङभित्र हिलो र लेदो भरिए पनि जोखिम मोलेर घस्रिँदै बाहिर निस्कन सफल भएका थिए।

उनीहरूलाई नेपाल प्रहरीले प्रयोग गरेको थर्मल ड्रोनमार्फत पत्ता लगाएपछि नेपाली सेनाको टोलीले उद्धार गरेको हो। थर्मल ड्रोनबाट सुरुङभित्र मानिसहरू रहेको संकेत पाएपछि उद्धार टोलीले तत्काल खोजी तथा उद्धार अभियान अघि बढाएको थियो।

यसैबीच, सुरुङभित्र अझै कामदारहरू फसेको हुनसक्ने भन्दै उद्धार कार्यलाई तीव्र बनाइएको छ। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षा निकायका टोली उद्धारमा सक्रिय छन्।

सुरुङबाट उद्धार भएका कामदारहरूले भित्र धेरै मानिसहरू रहेको बताएपछि सुरुङभित्र फसेकाहरूको सकुशल उद्धारका लागि परिवार तथा आफन्तहरूमा थप चिन्ता बढेको छ।

उद्धारको पर्खाइमा रहेका परिवारजनले सुरुङभित्र रहेका सबै कामदारको सकुशल उद्धार हुने विश्वास व्यक्त गरेका छन्। ‘भाइ, तिमी पनि सकुशल उद्धार भएर बाहिर आउनेछौ। हामी तिम्रो सकुशल उद्धारको प्रतीक्षामा छौँ’ भन्दै आफन्तहरूले आशा व्यक्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *