भोटेकोशी बाढी : चीनतर्फ ५५८ बेपत्ता
काठमाडौं। भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले नेपालसँगै चीनको सीमावर्ती क्षेत्रमा पनि ठूलो क्षति पुर्याएको छ।
चिनियाँ पक्षका अनुसार तिब्बतको जिरोङ (केरुङ) क्षेत्रमा बाढीपछि ५५८ जना सम्पर्कविहीन भएका छन्। पाँच जनाको शव फेला परेको छ भने दुई जनालाई जीवितै उद्धार गरिएको छ।
बाढीबाट क्षतिग्रस्त क्षेत्रमा चिनियाँ उद्धार टोलीले खोजी तथा उद्धार जारी राखेको छ। बाढीले केरुङको भन्सार तथा अध्यागमन क्षेत्रसहित सडक, संरचना र अन्य भौतिक पूर्वाधारमा क्षति पुर्याएको बताइएको छ।
उता नेपालतर्फ रसुवा र नुवाकोटमा बाढीको सबैभन्दा ठूलो प्रभाव परेको छ। भोटेकोशी तथा त्रिशूली नदी आसपासका बस्ती, बजार, पुल, जलविद्युत् आयोजना, सडक तथा अन्य संरचनामा क्षति पुगेको छ। ठूलो संख्यामा मानिसको मृत्यु तथा बेपत्ता भएका छन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाएका छन्। चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि प्रधानमन्त्री बालेन्द्र शाहलाई नेपालमा भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
तर, चीनको सीमावर्ती क्षेत्रमा भएको मानवीय क्षतिप्रति नेपालका राष्ट्रपति वा प्रधानमन्त्रीबाट औपचारिक समवेदना सन्देश पठाइएको विवरण सार्वजनिक भएको छैन।
सीमावर्ती क्षेत्रमा भएको विपद्बाट दुवै देशका नागरिक प्रभावित भएका बेला चीनबाट नेपालप्रति समवेदना आए पनि नेपालबाट चीनतर्फ त्यस्तो सन्देश नजानुलाई कूटनीतिक क्षेत्रमा चासोका रूपमा हेरिएको छ।
चीनतर्फ बेपत्ता तथा मृतकको खोजी जारी रहेकाले क्षतिको थप विवरण आउन बाँकी छ। नेपालतर्फ पनि बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य निरन्तर चलिरहेको छ।
