`

सुरुङभित्र गृहमन्त्री सुधन गुरुङ? के हो भाइरल भिडियोको रहस्य?

Nepal One HD १३ भदौ २०८३ ११:५५
बिशेष

काठमाडौं। भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारमा गृहमन्त्री सुधन गुरुङ आफैँ सुरुङभित्र पसेको दाबी गर्दै सामाजिक सञ्जालमा फैलाइएको भिडियो गलत रहेको खुलेको छ।

फेसबुक, टिकटक र एक्सलगायत सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको उक्त भिडियो नेपालको नभई भारतको उत्तराखण्डमा भएको पुरानो उद्धार अभियानको रहेको पाइएको हो।

बाढी तथा पहिरोका कारण माथिल्लो त्रिशूली–१ र त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाका सुरुङमा माटो तथा लेदो पसेपछि त्यहाँ काम गर्ने मजदुर र कर्मचारी फसेको सूचना सार्वजनिक भएको थियो। उनीहरूको उद्धारका क्रममा नेपाली सेना तथा सुरक्षाकर्मीले जोखिम मोलेर सुरुङभित्र प्रवेश गरेका वास्तविक दृश्यहरू पनि सार्वजनिक भएका छन्।

यही घटनासँग जोडेर केही सामाजिक सञ्जाल प्रयोगकर्ताले भारतको उत्तराखण्ड प्रहरी र फायर सर्भिसको पुरानो उद्धार भिडियो गृहमन्त्री गुरुङले आफैँ सुरुङभित्र गएर उद्धार गरेको भन्दै प्रसार गरेका हुन्।

भाइरल दृश्यमा देखिएका उद्धारकर्मीको पोसाक तथा घटनास्थलको वातावरणसमेत उत्तराखण्डको पुरानो टनेल उद्धार अभियानसँग मेल खाने देखिन्छ। उक्त भिडियो ‘फायर सर्भिस उत्तराखण्ड पुलिस’ नामक फेसबुक पेजबाट गत अगस्ट १४ मा बिहान २ः४३ बजे सार्वजनिक गरिएको थियो।

गृहमन्त्री गुरुङ भने बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यको समन्वयमा सक्रिय रहेको बताइएको छ। उनले सरकारी संयन्त्रलाई उद्धारमा केन्द्रित गर्न निर्देशन दिए पनि भाइरल भिडियोमा देखिएझैँ उनी आफैँ सुरुङभित्र प्रवेश गरेको कुनै आधिकारिक पुष्टि भएको छैन।

यसअघि बाढीका कारण सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारमा नेपाली सेना तथा सुरक्षाकर्मी खटिएका थिए। जोखिमपूर्ण अवस्थाबीच सुरुङभित्र प्रवेश गरी उद्धार कार्य अघि बढाइएको थियो।

विपद्को समयमा सामाजिक सञ्जालमा पुराना भिडियो तथा तस्बिरलाई नयाँ घटनासँग जोडेर फैलाउने क्रम बढ्ने भएकाले कुनै पनि सामग्रीको सत्यता पुष्टि नगरी शेयर नगर्न आग्रह गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *