`

नाइजरमा १० महिना हिरासतमा रहेका पत्रकार रिहा

Nepal One HD १३ भदौ २०८३ १५:२८
विश्व

एजेन्सी। नाइजरको राजधानी नियामेमा रहेको निजी टेलिभिजन स्टेसन साराउनियाका पत्रकार इब्रो चाइबोउ १० महिना हिरासतमा बसेपछि शुक्रबार रिहा भएका छन् ।

साराउनिया च्यानलले विज्ञप्ति जारी गर्दै चाइबोउले १० महिनापछि स्वतन्त्रता पाएको जनाएको छ । उनलाई नियामेबाट करिब ५० किलोमिटर दक्षिणपश्चिममा रहेको कोल्लो जेलमा राखिएको थियो ।

नाइजेरियाली पत्रकार सङ्गठनका अनुसार सैन्य शासनले पूर्वपरीक्षण हिरासतमा राखेका पत्रकारमध्ये चाइबोउ अन्तिम व्यक्ति थिए । नाइजरमा सन् २०२३ देखि सैन्य शासन कायम छ र प्रेस स्वतन्त्रता उल्लङ्घन भएको भन्दै गैरसरकारी संस्थाहरूले पटक–पटक चिन्ता व्यक्त गर्दै आएका छन् ।

चाइबोउलाई गत नोभेम्बरमा सार्वजनिक व्यवस्थामा खलल पार्न सक्ने सामग्री प्रसार गरेको आरोपमा अन्य ६ पत्रकारसहित पक्राउ गरिएको थियो ।

पक्राउ परेकामध्ये साराउनियाका निर्देशक मौसा काकासहित चार जनामाथि मुद्दा चलाइएको थियो । अन्य तीन जना भने यसअघि नै जमानतमा रिहा भएका थिए ।

चाइबोउसँगै अनलाइन प्रकाशन लेस इकोस डु नाइजर का प्रधानसम्पादक युसुफ सेरिबा र ले हेरिसन का निर्देशक ओमारौ केनलाई पनि जेल चलान गरिएको थियो । सेरिबा र केन जुलाईमै अस्थायी रूपमा रिहा भएका थिए ।

पत्रकारहरूको गिरफ्तारी सेनाले जनताबाट आर्थिक सहयोग जुटाउन स्थापना गरेको कोषसम्बन्धी सूचना चुहिएको घटनासँग जोडिएको थियो । उक्त सूचना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अपदस्थ राष्ट्रपति मोहम्मद बाजोमका समर्थकहरूले सैन्य शासनको आलोचना गर्न प्रयोग गरेको आरोप लगाइएको थियो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार गत वर्ष मात्रै नाइजरमा १३ जना पत्रकार पक्राउ परेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *