`

विदेशी उद्धार टोली बोलाउन ढिलाइ नभएको परराष्ट्रमन्त्री खनालको दाबी

Nepal One HD १३ भदौ २०८३ १५:३३
बिशेष

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले सुरुङमा फसेका नागरिकको उद्धारका लागि विदेशी सहयोग लिन ढिलाइ भएको भन्ने बुझाइ गलत रहेको बताएका छन् ।

मन्त्रालयमा आयोजित प्रेस मिटमा उनले भारतबाट ११ जना सुरुङ विज्ञ उद्धार कार्यमा परिचालन भइसकेको र चीनबाट पनि विज्ञ टोली नेपाल आउने तयारीमा रहेको जानकारी दिए ।

सुरुङमा फसेकाको उद्धारका लागि तीन दिनपछि मात्रै विदेशी सहयोग मागिएको हो कि भन्ने प्रश्नमा मन्त्री खनालले घटनापछि आवश्यक प्रक्रिया क्रमशः अघि बढाइएको बताए । औपचारिक सञ्चार प्रक्रियामा सूचना सार्वजनिक हुन लाग्ने समयलाई आधार बनाएर सरकारको पहल नै ढिलो भएको निष्कर्ष निकाल्न नहुने उनको भनाइ थियो ।

‘पहिलो दिन डिजास्टर भयो, दोस्रो दिन एसेसमेन्ट भयो, तेस्रो दिन यहाँ मान्छे आयो,’ खनालले भने ।

विदेशी विज्ञ तेस्रो दिन नेपाल आइपुगेको भन्दै त्यसअघि कुनै पहल नभएको भाष्य बनाउन उचित नहुने उनले बताए । औपचारिक संयन्त्रमार्फत समन्वय र सञ्चारको प्रक्रिया त्यसअघि नै सुरु भएको उनको दाबी थियो ।

मन्त्री खनालका अनुसार भारतबाट आएका ११ जना सुरुङ विज्ञ अहिले नै उद्धार कार्यमा खटिएका छन् भने चीनबाट पनि विशेषज्ञ टोली छिट्टै नेपाल आइपुग्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *