चार दिनपछि चाउचाउ लिएर रसुवा पुग्यो सरकार
रसुवा। भोटेकोशी बाढीको चार दिनपछि विनाशको मुख्य केन्द्र मानिएको टिमुरे–रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति देखिएको छ ।
बाढीले तहसनहस पारेको क्षेत्रमा शनिबार हेलिकप्टरबाट राहतका सामग्री झार्दै सरकारले आफ्नो उपस्थिति जनाउन थालेको हो ।
गृह मन्त्रालयका अनुसार रसुवाको भयावह अवस्थालाई सामान्य बनाउन सहसचिवको नेतृत्वमा छुट्टै टोली परिचालन गरिएको छ । मन्त्रालयका सहसचिव बासुदेव घिमिरेलाई प्रभावित क्षेत्रमा खटाइएको हो ।
घिमिरेले जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा अन्य सम्बन्धित संयन्त्रसँग समन्वय गरी उद्धार तथा राहतलाई प्रभावकारी बनाउने जिम्मेवारी पाएका छन् ।
बुधबार आएको बाढीले सबैभन्दा ठूलो क्षति पुर्याएका टिमुरे, स्याफ्रुबेँसी, बेत्रावतीलगायतका क्षेत्रमा उद्धार तथा राहत पर्याप्त नपुगेको गुनासो बढेपछि गृह मन्त्रालयले छुट्टै टोली पठाएको हो ।
रसुवामा गृह मन्त्रालयबाटै खटाइएका उपसचिव दर्जाका प्रमुख जिल्ला अधिकारी छन् । तर, विपद्को भयावह अवस्था र स्थानीय संयन्त्रले मात्रै व्यवस्थापन गर्न कठिन भएपछि सहसचिवकै नेतृत्वमा थप समन्वय संयन्त्र परिचालन गरिएको मन्त्रालय स्रोतको भनाइ छ ।
घिमिरे यसअघि सुनसरीको कप्तानगञ्ज घटनापछि गृह मन्त्रालयमा सरुवा भएका थिए । उपसचिव हुँदा उनले रसुवाको प्रमुख जिल्ला अधिकारीका रूपमा समेत काम गरिसकेका छन् ।
बाढी गएको चार दिनसम्म उद्धार तथा राहतमा राज्यको उपस्थिति कमजोर देखिएको भन्दै आलोचना भइरहेका बेला गृह मन्त्रालयले उच्च तहको टोली पठाएको हो ।
शनिबार हेलिकप्टरबाट चाउचाउलगायत राहत सामग्री पुर्याउन थालिएपछि टिमुरे–रसुवागढी क्षेत्रमा सरकारी उद्धार संयन्त्र सक्रिय हुन थालेको देखिएको छ।
