रसुवा बाढीको असर : नेप्से ४४ अंकले घट्यो
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा ठूलो गिरावट आएको छ । नेप्से परिसूचक ४३.८९ अंकले घटेर २ हजार ५१३.४२ विन्दुमा झरेको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।
दिनभर ३४७ कम्पनीका ९३ लाख २२ हजार १२५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ६४ करोड ८० लाख रुपैयाँ पुगेको छ । २१ कम्पनीको मूल्य बढ्दा २५३ कम्पनीको सेयरमूल्य घटेको छ ।
बजार खुलेदेखि नै ओरालो लागेको नेप्से कारोबारको अन्तिम समयसम्म सम्हालिन सकेन । विशेषगरी भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनामा परेको क्षतिको प्रभाव ती कम्पनीको सेयरमूल्यमा देखिएको छ ।
मैलुङ खोला जलविद्युत्को सेयरमूल्य सबैभन्दा धेरै १४.९८ प्रतिशत घटेको छ । त्यस्तै रसुवागढी हाइड्रोपावर र चिलिमे हाइड्रोसहितका जलविद्युत् कम्पनीको सेयरमूल्यमा पनि तीव्र गिरावट आएको छ । जलविद्युत् उपसमूह २.९५ प्रतिशत घटेको छ ।
बाढीको क्षतिपछि जलविद्युत् कम्पनीमा लगानीकर्ताको जोखिम बढेको आकलनसँगै बिक्री चाप देखिएको हो । त्यसको विपरीत लगानीकर्ताको आकर्षण उत्पादन तथा प्रशोधन समूहका कम्पनीतर्फ देखिएको छ ।
आजको बजारमा उपकार लघुवित्त सबैभन्दा धेरै बढ्ने कम्पनी बन्यो । यसको सेयरमूल्य १३.१६ प्रतिशतले उक्लिएको छ ।
