`

यशको ‘टक्सिक’ तामझाम, कथामा भने दम कम

Nepal One HD १५ भदौ २०८३ १७:३८
चलचित्र

काठमाडौं। दक्षिण भारतीय स्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिक’ पर्दामा उत्रिएको छ । ठूलो बजेट, भव्य सेट, चर्को एक्सन र यशको स्टारडमलाई केन्द्रमा राखेर बनाइएको फिल्मले ग्याङ्स्टरको कथाले रगतको होली खेलेको छ। 

त्यहिँमाथि ड्रग्सको कारोबार, पारिवारिक विश्वासघात, बदला र ग्याङवारलाई फिल्मले  मुख्य विषय बनाएको छ। पर्दामा फिल्म धुमधडाम छ, एक्सनमा कुनै कन्जुस्याइँ गरिएको छैन। तर कथा भन्ने तरिकाले भने दर्शकलाई अन्त्यसम्म समातेर राख्न सक्दैन।

फिल्मको कथा सन् १९४० को दशकको गोवाबाट सुरु हुन्छ । ड्रग्स कारोबारमा विभिन्न ग्याङको दबदबा रहेको समयमा यश ‘राया’को भूमिकामा देखिन्छन् ।

परिवारभित्रकै धोका र पुराना दुस्मनीले कथालाई बदला र ग्याङवारतर्फ लैजान्छ । त्यसपछि कथाको केन्द्रमा रायाका छोरा ‘टिकट’ आउँछन् ।

कागजमा कथा बलियो छ । तर पर्दामा धेरै पात्र र घटना एकैपटक दौडाइँदा कथा समात्न गाह्रो हुन्छ । को कसको मान्छे हो, कसले कसलाई धोका दिइरहेको छ भन्ने बुझ्नमै दर्शक अलमलिने ठाउँ धेरै छन् ।

‘टक्सिक’को सबैभन्दा बलियो पक्ष यश नै हुन् । रायाको भूमिकामा उनको लुक्स, हाउभाउ, संवाद बोल्ने शैली र स्क्रिन प्रेजेन्सले पर्दा तताउँछ ।

टिकटको भूमिकामा पनि यशले आफूलाई फरक देखाउने प्रयास गरेका छन् । उनका केही दृश्य फिल्मका सबैभन्दा सम्झनलायक क्षण बनेका छन् ।

फिल्ममा नयनतारा, कियारा आडवाणी, हुमा कुरेशी, तारा सुतरिया र रुक्मिणी वसन्तजस्ता कलाकार छन् । तर यति ठूलो स्टारकास्ट हुँदाहुँदै पनि अधिकांश पात्र यशकै कथाको वरिपरि घुमेका छन् । उनीहरूलाई स्वतन्त्र रूपमा स्थापित गर्ने प्रयास कमजोर देखिन्छ ।

निर्देशक गीतु मोहनदासले ‘टक्सिक’लाई सानो पर्दाका लागि बनाएकी छैनन् । विशाल सेट, भव्य लोकेसन, फरक शैली र ठूलो स्केल फिल्ममा देखिन्छ ।

समस्या के हो भने फिल्मले कथाभन्दा शैलीलाई बढी महत्व दिएको महसुस हुन्छ ।

एकपछि अर्को घटना छिटोछिटो आउँछन् । एक्सन हुन्छ, गोली चल्छ, पात्र मर्छन् र कथा अघि बढ्छ । तर ती घटनाको पछाडिको कारण र पात्रको भावनालाई पर्याप्त समय नदिँदा दर्शकसँग भावनात्मक सम्बन्ध बन्न सक्दैन ।

फिल्मको एक्सन ठूलो स्केलमा खिचिएको छ । तर तीव्र एडिटिङ र लगातारका कटले कतिपय दृश्यलाई रोमाञ्चकभन्दा अन्योलपूर्ण बनाउँछ ।

निर्माणमा पैसा र मेहनत दुवै खर्चिएको देखिन्छ । तर ठूलो बजेट र भव्य दृश्यले कमजोर पटकथाको कमी पूर्ति गर्न सक्दैन भन्ने कुरा फिल्मले देखाउँछ ।

‘टक्सिक’को सिनेमाटोग्राफी भने आकर्षक छ । १९४० को दशकको गोवा, विशाल सेट, पोसाक, प्रकाश र एक्सनको संयोजनले फिल्मलाई भव्य बनाएको छ ।

कतिपय फ्रेम यति आकर्षक छन् कि फिल्म हेर्दा आँखा हटाउन मन लाग्दैन । तर दृश्य सकिएपछि फेरि कथामै फर्किँदा धेरै प्रश्न बाँकी रहन्छन् ।

रवि बसरुरको ब्याकग्राउन्ड स्कोरले फिल्मलाई भारी बनाउन खोजेको छ । तर कतिपय दृश्यमा बीजीएम आवश्यकता भन्दा बढी हावी हुँदा दृश्यको प्रभाव नै कमजोर भएको महसुस हुन्छ ।

ठूला नाम जोडिएको बीजीएमबाट अपेक्षा स्वाभाविक रूपमा धेरै थियो । तर गीत र ब्याकग्राउन्ड स्कोरले फिल्मको कमजोर कथालाई उकास्न सकेका छैनन् ।

‘टक्सिक’मा सबै कुरा ठूलो छ। जस्तै कि बजेट ठूलो, सेट ठूलो, एक्सन ठूलो र यशको स्टारडम पनि ठूलो। तर कथा भने त्यसको अनुपातमा कमजोर छ भन्दा फरक नपर्ला। 

यद्यपि यशले आफ्नो आफ्नो काम इमानदारीपूर्वक गरेका छन्। पर्दामा उनको उपस्थिति फिल्मको ठूलो आकर्षण हो ।

तर ३ घण्टा १४ मिनेट लामो फिल्मलाई यशले मात्र धान्न सकेनन्। यो भने पक्का हो। 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *