राष्ट्रपति पौडेल र सभापति लामिछानेबीच भेटवार्ता, बाढीपछिको उद्धार र राहतबारे जानकारी
काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार भएको भेटवार्तामा सभापति लामिछानेले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षति तथा त्यसपछि भइरहेको उद्धार, राहत र पुनःस्थापनाका प्रयासबारे राष्ट्रपतिलाई जानकारी गराएका हुन्।
लामिछानेले बाढी प्रभावित क्षेत्रमा राज्यका तर्फबाट भइरहेका उद्धार तथा राहतका गतिविधि, प्रभावित नागरिकको अवस्था र तत्काल आवश्यक पर्ने सहयोगका विषयमा राष्ट्रपतिलाई जानकारी गराएको बताइएको छ।
यसअघि सोमबार नै लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भेटवार्ता गरेका थिए। प्रधानमन्त्री शाहसँगको भेटमा उनले बाढी प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहत अभियान र पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए।
प्रधानमन्त्रीसँगको भेटबाट प्राप्त जानकारीपछि लामिछानेले राष्ट्रपति पौडेललाई समेत बाढीपछिको अवस्था र सरकारका तर्फबाट भइरहेका कामबारे ब्रिफिङ गरेका हुन्।
