हर्क-सुदनबीच बढ्यो दूरी, श्रम संस्कृति पार्टीको बैठकमा किराती समूहलाई बोलाइएन
चार महिनाअघि किराती वरिष्ठ नेता बन्ने गरी श्रम संस्कृति पार्टीसँग एकता गरेका थिए। त्यस क्रममा किराती समूहबाट एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्यसहित १८ जना नेता श्रम संस्कृति पार्टीमा समाहित भएका थिए। एकताअघि २३ सदस्यीय रहेको पार्टीको केन्द्रीय कमिटी एकतापछि ४१ सदस्यीय बनेको थियो।
पार्टी एकतापछि अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत सुदन किरातीलाई कोशी प्रदेशको मुख्यमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने घोषणा गरेका थिए। किराती निकट एक नेताका अनुसार त्यतिबेला भावी मुख्यमन्त्रीको उम्मेदवारका रूपमा किरातीको नाम पार्टीभित्र करिब सर्वसम्मतजस्तै थियो।
तर, अहिले आएर साम्पाङले किराती समूहलाई नै केन्द्रीय कमिटी बैठकमा नबोलाएपछि दुई पक्षबीचको दूरी सतहमा आएको छ। पछिल्लो समय साम्पाङको सामाजिक सञ्जाल केन्द्रित गतिविधिप्रति किराती असन्तुष्ट रहँदै आएको उनी निकट नेताहरू बताउँछन्। पार्टीभित्रको विवाद बढ्दै जाँदा एकतासमेत संकटमा पर्न सक्ने अवस्था आएको उनीहरूको दाबी छ।
स्रोतका अनुसार श्रम संस्कृति पार्टीको केन्द्रीय कमिटी बैठक बस्न लागेको जानकारीसमेत किरातीलाई औपचारिक रूपमा दिइएको थिएन। साम्पाङ र किरातीबीच प्रत्यक्ष सम्पर्क नभएको पनि लामो समय भइसकेको बताइएको छ।
साम्पाङसँग सम्पर्क हुन नसकेपछि आफूहरूलाई बैठकमा नबोलाउनुको कारणबारे किरातीले पार्टीका अन्य नेताहरूसँग जानकारी लिएका थिए। उनी निकट नेताहरूका अनुसार अन्य नेताहरूले आजको बैठकमा पार्टी एकताको निर्णय अनुमोदन गर्ने र त्यसपछि भोलिदेखि एकीकृत केन्द्रीय कमिटीको बैठक बस्ने जवाफ दिएका छन्।
तर, उक्त जवाफबाट किराती भने आश्वस्त हुन सकेका छैनन्। स्रोतका अनुसार उनले पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीभित्र विकसित परिस्थितिबारे आफू निकट नेताहरूसँग छलफलसमेत थालेका छन्।
यससँगै चार महिनाअघि भएको श्रम संस्कृति पार्टी र किराती समूहबीचको एकता अहिले फेरि विवादमा परेको छ।
