`

उद्धार तथा राहतमा युद्धस्तरमा सरकार?

Nepal One HD १६ भदौ २०८३ १३:५७
बिशेष

काठमाडौं। भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम सरकारले  युद्धस्तरमा गरिरहेको जनाएको छ। 

सरकारले प्रभावित क्षेत्रमा युद्धस्तरमा उद्धार, राहत तथा पुनःस्थापनाको काम भइरहेको जनाएतापनि अझ प्रभावकारी रुपमा काम हुन नसकेको गुनासो समेत आइरहेको छ।

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली खोज तथा उद्धारमा परिचालित छन्। 

नेपाली सेनाका अनुसार मंगलबारको अन्तिम विवरणसम्म हेलिकप्टरमार्फत २३ जनाको शव उद्धार गरिएको छ। प्रभावित क्षेत्रका विभिन्न स्थानबाट शव संकलन तथा व्यवस्थापनको कामसमेत भइरहेको सेनाले जनाएको छ।

बाढीमा हाइड्रोपावर आयोजनाका सुरुङमा फसेकाहरूको खोजीलाई पनि तीव्र पारिएको छ। चिलिमे हाइड्रोको सुरुङमा विदेशी विशेषज्ञसहितको संयुक्त खोज तथा उद्धार टोली करिब ५० मिटरसम्म प्रवेश गरेर खोजीमा जुटेको छ।

लाङटाङ हाइड्रोको सुरुङमा टोली करिब १५० मिटरसम्म पुगेको छ। त्यस्तै, अपर त्रिशूली–१ को सुरुङमा करिब २०० मिटरसम्म प्रवेश गरेर खोजी गरिए पनि हालसम्म उद्धार हुन सकेको छैन।

त्रिशूली–३ ‘ए’ मा सुरुङको हेड पत्ता लगाएर कम्प्रेसरमार्फत हावा पठाउने काम भइरहेको छ। सुरुङभित्र जमेको पानी निकाल्ने प्रयास जारी छ। तीनवटा एक्साभेटर प्रयोग गरी पछाडितर्फको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ भने ढुंगा फुटाएर सुरुङभित्र प्रवेश गर्ने बाटो बनाउने काम भइरहेको छ।

त्रिशूली–३ ‘बी’ मा पनि विज्ञसहितको सुरक्षाकर्मी टोली परिचालन गरिएको छ। टोलीले सुरुङको प्रवेशद्वार पत्ता लगाएर एक्साभेटरको प्रयोगमार्फत भित्र पस्ने बाटो खोल्ने काम गरिरहेको छ।

बाढीपछि तत्काल गरिएको उद्धार अभियानमा विभिन्न जलविद्युत् आयोजनाबाट २७९ जनालाई जीवितै उद्धार गरिएको सेनाले जनाएको छ। उद्धार गरिएकामध्ये रसुवागढीबाट २ जना, अपर त्रिशूली–१ बाट ३३ जना, माथिल्लो त्रिशूली–३ ‘ए’ बाट २२१ जना, माथिल्लो त्रिशूली–३ ‘बी’ बाट २ जना, मैलुङबाट ९ जना, नुवाकोट सौर्य विद्युत् आयोजनाबाट ४ जना, त्रिशूली जलविद्युत् आयोजनाबाट ३ जना र देवघाट जलविद्युत् आयोजनाबाट ५ जना छन्।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र पूर्वी नवलपरासीका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ९ हजारभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालित छन्। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने तथा आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्।

बाढीबाट सम्पर्कविहीन भएका व्यक्तिको खोजी तथा विभिन्न स्थानमा भेटिएका शव संकलन गर्ने काम पनि निरन्तर भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *