भुटान जाने नेपाली बिच भलिबल टोलीको बिदाइ
काठमाडौं । भुटानमा आयोजना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) बिच भलिबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई मंगलबार बिदाइ गरिएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सभाहलमा नेपाल भलिबल संघले आयोजना गरेको कार्यक्रममा राखेपका सदस्यसचिव रामचरित्र मेहताले नेपाली टोलीलाई बिदाइ गरेका हुन्।
बिदाइ कार्यक्रममा सदस्यसचिव मेहताले अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपाली खेलाडीको क्षमता अभिवृद्धि गर्दै भलिबललाई थप उचाइमा पुर्याउने बताए। उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न खेलाडीलाई शुभकामना दिए।
प्रतियोगिता सेप्टेम्बर ४ देखि ६ सम्म भुटानमा सञ्चालन हुनेछ। नेपालले प्रतियोगिताको पुरुष र महिला दुवै विधामा दुई–दुई जोडी खेलाडी उतार्नेछ।
पुरुषतर्फ महेन्द्र श्रेष्ठ–राजकुमार निरौला तथा झमनसिंह दर्जी–शरण कार्कीको जोडीले प्रतिस्पर्धा गर्नेछ। महिलातर्फ कमला पुन–कोपिला राना तथा सुनिता राई–भावना डाँगीको जोडी मैदानमा उत्रनेछ।
प्रतियोगितामा नेपालसँगै भुटान, माल्दिभ्स, ताजाकिस्तान र उज्बेकिस्तानको सहभागिता रहनेछ।
