जोशमा होस गुमेको हो सरकार?
काठमाडौं। राज्य कहिले चाहिन्छ ? र किन चाहिन्छ ? राज्यको परिभाषा साथै राज्य चालाउनेको औचित्यमाथि प्रश्न गर्ने बेला नभए पनि प्रश्न सोध्नुपर्ने अवस्था राज्यले नै गरेको छ। राज्य चलाउन युवा जोश चाहिन्छ । तर जोश मात्रै पर्याप्त हुँदैन । संकटका बेला के गर्ने, कसलाई सोध्ने र उपलब्ध स्रोतलाई कसरी परिचालन गर्ने भन्ने अनुभव पनि चाहिन्छ ।
शासकसँग अनुभवको कमी भयो भने त्यसको असर सरकारमा मात्र पर्दैन, त्यसको मूल्य जनताले चुकाउनुपर्छ । रसुवा बाढीपछि खोज, उद्धार र राहतमा देखिएको अव्यवस्थाले यही प्रश्न खडा गरेको छ- के देश चलाउने कुरा लहडको विषय हो ?
भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि सरकारले सुरुमा देखाएको सक्रियता प्रशंसनीय थियो। तर विपद् व्यवस्थापन भने घटनास्थलमा पुगेर निरीक्षण गर्नु मात्रै होइन । त्यसपछि उद्धार कसरी गर्ने, राहत कहाँबाट लैजाने, कुन संयन्त्र परिचालन गर्ने र बाटो बन्द भए अर्को विकल्प के हो भन्ने तत्काल निर्णय गर्नुपर्छ । यही ठाउँमा सरकार कमजोर देखियो ।
सायद सरकारको नियत र उदेश्य ठिक होला। तर उद्देश्य ठीक भएर मात्रै पुग्दैन, काम गर्ने तरिका पनि ठीक हुनुपर्छ। उद्धार हुन सक्ने अवस्थामा समेत मानिसले ज्यान गुमाउनुपरेको गुनासो छ।
शव व्यवस्थापनदेखि घाइतेको उपचारसम्म प्रश्न उठेका छन् । विपद्को बेला अनुभवको अर्थ यही हो, समस्या आउँदा आत्तिने होइन, विकल्प खोज्ने हो।
नेपालमा विपद् व्यवस्थापनको कानुनी र संस्थागत संरचना पहिल्यै छ । संघमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेशमा प्रदेश कार्यकारी समिति, जिल्लामा जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहमा आफ्नै संयन्त्र छन् ।
सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीय प्रशासन र जनप्रतिनिधिको भूमिका पनि स्पष्ट छ । समस्या संरचना नभएको होइन, भएको संरचनालाई प्रभावकारी रूपमा चलाउन नसक्नु हो ।
खोज तथा उद्धारमा नेपाली सेनाको भूमिका महत्वपूर्ण छ। कठिन भूगोलमा उद्धार गर्न आवश्यक जनशक्ति र साधन सेनासँग छन्। तर सेना आफैं सम्पूर्ण विपद् व्यवस्थापन गर्ने निकाय होइन।
उद्धारपछि राहत वितरण, प्रभावितको पहिचान र पुनःस्थापनाका काम स्थानीय तह, जिल्ला प्रशासन र नागरिक संयन्त्रसँग जोडिनुपर्छ । यी निकायबीच तालमेल कमजोर भयो भने राहत गोदाममै थन्किन्छ, पीडित भने भोकै बस्छन् ।
रसुवामा अहिले देखिएको समस्या पनि यही हो । उत्तरी भेग र त्रिशूलीपारिका पीडित राहतको पर्खाइमा छन्, तर सामग्री बट्टार र विदुरमै थन्किएको खबर आउँछ ।
सरकार सडक अवरुद्ध भएकाले राहत पुर्याउन नसकिएको बताउँछ । सडक बन्द हुनु समस्या हो, तर विपद् व्यवस्थापनको पहिलो नियम नै विकल्प खोज्नु हो ।
काठमाडौँबाट लैजान नसकिए पोखराबाट लैजान सकिन्छ कि सकिँदैन ? मध्यपहाडी राजमार्ग प्रयोग गर्न सकिन्छ कि सकिँदैन ? वैकल्पिक बाटो खोल्न सकिन्छ कि सकिँदैन ? यस्ता प्रश्नको उत्तर खोज्ने काम सरकारकै हो । हेलिकप्टर मात्रै विकल्प होइन । स्रोत र साधन भएको सरकारले सम्भावित सबै बाटो खोज्नुपर्छ ।
प्रदेश तहबाट देखिएको सक्रियताले पनि एउटा कुरा देखाउँछ- पहल गर्न चाहियो भने केही न केही गर्न सकिन्छ । बाढी आएपछि बागमतीका मुख्यमन्त्री किरण थापा स्वयं डोजर लिएर बेत्रावती पुगेका थिए। संघीय सरकारसँग त झन् धेरै स्रोत र अधिकार छ । त्यसैले केन्द्रबाट पनि त्यहीअनुसारको तदारुकता अपेक्षित हुनु स्वाभाविक हो ।
अब बितेको क्षतिको हिसाब गरेर मात्रै बस्ने समय छैन। ज्यान गुमाएकालाई फर्काउन सकिँदैन। तर बाँचेकालाई बचाउन सकिन्छ । बेपत्ताको खोजी, घाइतेको उपचार, पीडितलाई खाद्यान्न र सुरक्षित बास तथा विस्थापितको पुनःस्थापना अहिलेको प्राथमिकता हुनुपर्छ ।
यसमा राजनीतिक दलहरू पनि जिम्मेवार बन्नुपर्छ। सरकार कमजोर छ भने आलोचना गर्न पाइन्छ, तर उपयोगी सुझाव दिन पनि सक्नुपर्छ। पुराना दलसँग अनुभव छ भने त्यो अनुभव नयाँ सरकारलाई काम लाग्ने गरी दिनुपर्छ । नयाँ नेतृत्वसँग नयाँ सोच छ भने त्यसलाई पुरानो अनुभवसँग जोड्नुपर्छ। ‘नयाँ’ र ‘पुराना’को नाममा कित्ताकाट गरेर विपद् व्यवस्थापन हुँदैन ।
अहिले सरकारलाई सबैभन्दा बढी चाहिएको कुरा दम्भ होइन, सल्लाह र सहकार्य हो। प्रधानमन्त्री र गृहमन्त्रीले अरूको अनुभव सुन्नुलाई आफ्नो कमजोरी ठान्नु हुँदैन।
पुराना नेताले पनि सरकारलाई जस जान्छ भनेर आवश्यक सुझाव रोक्नु हुँदैन । विज्ञ, सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्र र नागरिक समाजसँग हातेमालो गर्न सक्नुपर्छ ।
किनभने विपद् कुनै दलको हुँदैन । बाढीले नयाँ-पुरानो, सत्ता-प्रतिपक्ष वा विचारधारा हेरेर घर बगाउँदैन । त्यसले नागरिकको ज्यान लिन्छ । त्यसैले संकटका बेला राजनीतिक अहंकारको कुनै अर्थ हुँदैन ।
देश चलाउनु प्रयोग गर्ने विषय होइन। किनकी देश प्रयोगशाला हैन। सरकारको एउटा गलत निर्णयको मूल्य हजारौँ नागरिकले तिर्नुपर्ने हुन सक्छ। युवा जोश चाहिन्छ, नयाँ सोच चाहिन्छ ।
तर त्यसलाई अनुभव, संयम र सामूहिक निर्णयले नसम्हाल्ने हो भने जोश नै कमजोरी बन्न सक्छ।
