`

कृष्ण दर्शन : आज पनि उत्तिकै सान्दर्भिक छ

राधे १९ भदौ २०८३ १७:४५
फिचर

भाद्र कृष्णाष्टमी। श्रीकृष्ण जन्माष्टमी। हरेक वर्ष आउने यो पर्वसँगै कृष्णको जन्मकथा दोहोरिन्छ। कंशको अत्याचार, मथुराको कारागार, मध्यरातको जन्म, यमुना पार गराएर गोकुल पुर्‍याइएको बालक। पुन: यहि प्रक्रिया।

कृष्णलाई भगवान्का रूपमा पूजा गरेर उनको अर्थ बुझिँदैन। उनी जीवनका अनेक विरोधाभासलाई एकैसाथ बाँच्न सिकाउने पात्र हुन्।

उनी प्रेममा छन्, युद्धमा छन्। बाँसुरीमा छन्, रणभूमिमा पनि छन्। उनी कर्मको कुरा गर्छन्, तर कर्मको फलमा आसक्ति नराख्न भन्छन्। उनी भक्ति सिकाउँछन्, तर अन्धसमर्पण होइन। उनी शान्तिको कुरा गर्छन्, तर अन्यायका अगाडि हतियार बिसाउन दिँदैनन्।

सायद यही कारण हजारौँ वर्ष बितिसक्दा पनि कृष्ण पुराना भएका छैनन्।

आज मानिससँग सुविधा धेरै छ, तर सन्तोष कम छ। सूचना धेरै छ, तर शान्ति कम छ। संसारभरका मानिससँग जोडिन सकिन्छ, तर आफ्नै मनसँग जोडिन कठिन भइरहेको छ। प्रविधिले दूरी घटाएको छ, तर एक्लोपन बढाएको छ।

आज मानिस कामभन्दा बढी परिणामको चिन्ताले थाकेको छ। जागिर होस् वा व्यापार, राजनीति होस् वा पढाइ—हरेक ठाउँमा एउटै प्रश्न छ, ‘यसबाट मलाई के प्राप्त हुन्छ ?’

कृष्णले करिब पाँच हजार वर्षअघि नै यसको जवाफ दिएका थिए-

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि।।
(गीता २.४७)

तिम्रो अधिकार कर्ममा छ, फलमा छैन।

यसको अर्थ फलको वास्ता नगर्नु होइन। अर्थ यति हो-फलको चिन्ताले कर्म नै बिगार्ने अवस्था नआओस्। आफ्नो काम इमानदारीपूर्वक गर, परिणामलाई स्वीकार गर।

त्यसैले कृष्णको अर्को शिक्षा अझ महत्त्वपूर्ण छ-

योगस्थः कुरु कर्माणि सङ्गं त्यक्त्वा धनञ्जय।
सिद्ध्यसिद्ध्योः समो भूत्वा समत्वं योग उच्यते।।
(गीता २.४८)

सफलता र असफलता दुवैमा आफ्नो सन्तुलन नहराउनु नै योग हो।

आजको भाषामा भन्दा-सफल हुँदा आकाशमा नउड, असफल हुँदा भुइँमै नधस। काम गरिरह।

मानिसले संसार जित्ने कुरा गर्छ। तर आफ्नो मन जित्न भने निकै कठिन छ।

कृष्ण भन्छन्-

उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत्।
आत्मैव ह्यात्मनो बन्धुरात्मैव रिपुरात्मनः।।
(गीता ६.५)

मानिस आफैँ आफ्नो मित्र हो, आफैँ आफ्नो शत्रु पनि।

बाहिरको परिस्थिति सधैँ आफ्नो अनुकूल हुँदैन। तर त्यस परिस्थितिप्रति हाम्रो प्रतिक्रिया कस्तो हुन्छ, त्यो धेरै हदसम्म आफ्नै मनमा निर्भर हुन्छ।

अर्जुनले पनि कृष्णसँग यही समस्या राखेका थिए। मन चञ्चल छ, नियन्त्रण गर्न गाह्रो छ।

कृष्णले भने-

असंशयं महाबाहो मनो दुर्निग्रहं चलम्।
अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते।।
(गीता ६.३५)

मन चञ्चल हुनु स्वाभाविक हो। त्यसलाई अभ्यास र वैराग्यबाट सम्हाल्न सकिन्छ।

आज ध्यान, माइन्डफुलनेस र मानसिक सन्तुलनको कुरा संसारभर भइरहेको छ। तर कृष्णको शिक्षा यसभन्दा धेरै अगाडि पुगिसकेको थियो—पहिले मनलाई हेर्न सिक, त्यसपछि संसारलाई हेर।

मानिस दुःखी हुनुको एउटा ठूलो कारण उसले चाहेको कुरा नपाउनु हो। तर चाहना पूरा भएपछि पनि कथा सकिँदैन। एउटा इच्छा पूरा हुन्छ, अर्को सुरु हुन्छ।

कृष्णले मानिसको यही मनोविज्ञानलाई क्रमशः व्याख्या गरेका छन्-

ध्यायतो विषयान्पुंसः सङ्गस्तेषूपजायते।
सङ्गात्सञ्जायते कामः कामात्क्रोधोऽभिजायते।।
(गीता २.६२)

कुनै विषयमा निरन्तर सोच्दा आसक्ति जन्मन्छ, आसक्तिबाट इच्छा र इच्छा पूरा नभए क्रोध।

अर्को श्लोकमा त्यसको परिणाम पनि भनिएको छ-

क्रोधाद्भवति सम्मोहः सम्मोहात्स्मृतिविभ्रमः।
स्मृतिभ्रंशाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति।।
(गीता २.६३)

क्रोधले विवेक हराउँछ र विवेक हराएपछि मानिस विनाशतर्फ जान सक्छ।

आज सामाजिक सञ्जालमा एउटा टिप्पणी मन परेन भनेर सम्बन्ध बिगार्ने, प्रतिस्पर्धामा पछि परियो भनेर मानसिक तनाव लिने, उपभोक्तावादमा आवश्यकताभन्दा बढी चाहना पाल्ने-यी सबैमा कृष्णको त्यो पुरानो मनोविज्ञान देखिन्छ।

हामी सुखलाई धेरैजसो पैसा, पद, प्रतिष्ठा र वस्तुसँग जोड्छौँ। तर वस्तुबाट प्राप्त सुख स्थायी हुँदैन।

कृष्ण भन्छन्-

ये हि संस्पर्शजा भोगा दुःखयोनय एव ते।
आद्यन्तवन्तः कौन्तेय न तेषु रमते बुधः।।
(गीता ५.२२)

इन्द्रियजन्य सुखको आरम्भ हुन्छ र अन्त्य पनि हुन्छ। त्यसैले बुद्धिमान् मानिस त्यसैमा मात्र निर्भर हुँदैन।

आज बजारले मानिसलाई निरन्तर भनिरहेको छ—यो किन्नुहोस्, त्यो पाएपछि सुखी हुनुहुन्छ। कृष्ण भने उल्टो बाटो देखाउँछन्—सुख वस्तु थपेर होइन, चाहना सम्हालेर पनि आउँछ।

कृष्णको भक्ति केवल पूजा, व्रत र अनुष्ठानमा सीमित छैन। कृष्णका लागि भाव ठूलो कुरा हो।

पत्रं पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छति।
तदहं भक्त्युपहृतमश्नामि प्रयतात्मनः।।
(गीता ९.२६)

भक्तिपूर्वक चढाइएको पात, फूल, फल वा पानी पनि स्वीकार्य छ।

यसको गहिरो अर्थ के हो भने ईश्वरलाई चढाउने वस्तुभन्दा मन कस्तो छ भन्ने कुरा महत्त्वपूर्ण छ।

अन्ततः कृष्ण भन्छन्-

मन्मना भव मद्भक्तो मद्याजी मां नमस्कुरु।
मामेवैष्यसि युक्त्वैवमात्मानं मत्परायणः।।
(गीता १८.६५)

मनलाई सत्यमा लगाऊ, भक्त बन र समर्पित भएर कर्म गर।

त्यसैले भक्ति पलायन होइन। भक्ति आफूभित्रको अहंकार घटाउँदै जाने प्रक्रिया हो।

कृष्णले मानिसलाई दुःख नआउने जीवनको आश्वासन दिएका छैनन्। बरु दुःख आए पनि नढल्ने चेतना दिएका छन्।

मात्रास्पर्शास्तु कौन्तेय शीतोष्णसुखदुःखदाः।
आगमापायिनोऽनित्यास्तांस्तितिक्षस्व भारत।।
(गीता २.१४)

सुख–दुःख, जाडो–गर्मी आउँछन् र जान्छन्। ती स्थायी हुँदैनन्।

जीवनमा खराब समय आयो भन्दै जीवन नै खराब भएको हुँदैन। राम्रो समय आयो भन्दै त्यो सधैँ रहँदैन। कृष्णको समभावको शिक्षा यहीँ काम लाग्छ।

मानिसको सबैभन्दा ठूलो डरमध्ये एउटा मृत्यु हो। कृष्णले अर्जुनलाई आत्माको नश्वरता होइन, अमरताको दर्शनबाट मृत्यु बुझाए।

न जायते म्रियते वा कदाचिन्नायं भूत्वा भविता वा न भूयः।
अजो नित्यः शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे।।
(गीता २.२०)

शरीर नष्ट हुन्छ, आत्मा नष्ट हुँदैन।

त्यसैलाई अर्को श्लोकमा अझ स्पष्ट पार्दै कृष्ण भन्छन्-

नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः।
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः।।
(गीता २.२३)

यो शिक्षा मृत्युबारे होइन, जीवनबारे पनि हो। हामीले आफूलाई केवल शरीर, पद, सम्पत्ति र प्रतिष्ठासँग जोड्यौँ भने तीमध्ये कुनै कुरा गुम्दा आफू नै गुमेजस्तो लाग्छ। आफूलाई त्योभन्दा ठूलो अस्तित्वका रूपमा बुझ्न सके जीवनप्रतिको दृष्टि बदलिन्छ।

कृष्णको सबैभन्दा गलत बुझाइमध्ये एउटा हो-उनी केवल शान्तिका देवता हुन्।

कृष्ण शान्ति चाहन्छन्, तर अन्यायको मूल्यमा होइन। कुरुक्षेत्रमा अर्जुन आफ्नै मानिससँग युद्ध गर्नुपर्दा विचलित भए। कृष्णले उनको कमजोरीलाई सहानुभूतिको नाममा स्वीकार गरेनन्।

क्लैब्यं मा स्म गमः पार्थ नैतत्त्वय्युपपद्यते।
क्षुद्रं हृदयदौर्बल्यं त्यक्त्वोत्तिष्ठ परन्तप।।
(गीता २.३)

हृदयको दुर्बलता त्यागेर उठ।

यसको अर्थ हरेक विवादमा युद्ध गर भन्ने होइन। यसको अर्थ अन्यायलाई अन्याय भन्न सक्ने साहस राख भन्ने हो।

आज भ्रष्टाचार देखेर चुप बस्ने, शक्तिशालीका अगाडि सत्य लुकाउने र व्यक्तिगत स्वार्थका लागि गलत कुरासँग सम्झौता गर्ने समाजमा कृष्णको यो शिक्षा झन् कठोर भएर उभिन्छ।

कृष्णको दर्शनको अर्को सुन्दर पक्ष समदृष्टि हो।

विद्याविनयसम्पन्ने ब्राह्मणे गवि हस्तिनि।
शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः।।
(गीता ५.१८)

सच्चा ज्ञानीले मानिसलाई बाहिरी परिचयबाट मात्र हेर्दैन। सबैमा एउटै चेतना देख्छ।

आज जात, वर्ग, धर्म, राजनीति र राष्ट्रियताको नाममा मानिस मानिसबाट टाढिँदै गएको समयमा कृष्णको यो दृष्टि अझ आवश्यक छ।

जन्माष्टमीमा मन्दिर भरिन्छ। मध्यरातमा कृष्ण जन्मिन्छन्। घण्टी बज्छ, आरती हुन्छ, भजन गाइन्छ। यो सबै श्रद्धाको कुरा हो।

तर कृष्णलाई पूजा गरेर उनको शिक्षा बिर्सियौँ भने त्यो आधा भक्ति मात्र हुन्छ।

कृष्णको सन्देश जीवनमा उतार्नु भनेको फलको लोभमा कर्म नगर्नु, सफलतामा अहंकार नगर्नु, असफलतामा नटुट्नु, मनलाई नियन्त्रण गर्न सिक्नु, इच्छालाई विवेकले हेर्नु, दुःखमा धैर्य राख्नु र अन्यायका अगाडि सत्यको पक्षमा उभिनु हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *