गगन पक्षलाई चुनौती दिँदै देउवा पक्ष- मंसिरमा समानान्तर महाधिवेशन गर्ने तयारी
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूह समानान्तर महाधिवेशनको तयारीमा जुटेको छ। चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको समूहको बैठकले आगामी मंसिरमा पार्टीको १५औँ महाधिवेशन गर्ने निर्णय गरेको हो।
बैठकले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव अनुमोदन गरेको छ। त्यसअघि वडा, पालिका, प्रदेश, निर्वाचन क्षेत्र तथा जिल्ला तहका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ।
निर्णयअनुसार असोज १५ गतेदेखि वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन र असोज २३ गते प्रदेश तथा संघीय निर्वाचन क्षेत्रका अधिवेशन गर्ने तय भएको छ। त्यस्तै, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने निर्णय भएको छ।
महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा. शशांक कोइरालालाई आवश्यक परामर्श गरी केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति र अनुशासन समिति गठन गर्ने जिम्मेवारी दिइएको छ।
त्यसैगरी नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघ, आदिवासी जनजाति महासंघ, नेपाल सांस्कृतिक महासंघलगायत भ्रातृ तथा शुभेच्छुक संघ–संस्थाका तदर्थ समिति पनि आवश्यक परामर्श गरी गठन गर्ने जिम्मेवारी कोइरालालाई दिइएको बैठकले जनाएको छ।
बैठकले केन्द्रीय प्रतिनिधिहरूलाई यथाशीघ्र जिल्लामा पुगेर संगठन निर्माण तथा अधिवेशन तयारीका काम अघि बढाउन निर्देशन दिएको छ। भदौ २५ गतेभित्र जिल्ला अधिवेशन तयारी समिति, भदौ २८ गतेभित्र संघीय तथा प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन तयारी समिति र असोज ३ गतेभित्र पालिका तथा वडा अधिवेशन तयारी समिति गठन गर्ने निर्णय भएको छ।
प्रदेश तथा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सम्बन्धित तहबाट उम्मेदवारको नाम संकलन तथा उपयुक्त उम्मेदवार छनोटका लागि आवश्यक प्रक्रिया अघि बढाउन पनि बैठकले निर्देशन दिएको छ।
देउवा समूहको अर्को बैठक भदौ २६ गते बस्ने तय भएको छ।
