पेन्टागनमा हंगामा : ५० अधिकारीको ‘लाइ डिटेक्टर टेस्ट’
एजेन्सी। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले गोप्य सैन्य सूचना सञ्चारमाध्यममा चुहाएको आशंकामा संयुक्त सैन्य स्टाफका करिब ५० अधिकारी तथा कर्मचारीमाथि पोलिग्राफ परीक्षण गरेको छ।
अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्सका अनुसार इरानसँगको युद्ध लम्बिँदै जाँदा अमेरिकी हतियारको मौज्दातमा दबाब परेको र लामो दूरीका क्षेप्यास्त्र तथा प्याट्रियट इन्टरसेप्टरको अभाव रहेको समाचार बाहिरिएपछि पेन्टागनले सूचना चुहावटको स्रोत खोज्न अनुसन्धान अघि बढाएको हो।
अनुसन्धानमा सैन्य अधिकारीसँगै नागरिक कर्मचारीसमेत परिचालन गरिएको छ। उनीहरूलाई सञ्चारमाध्यमका पत्रकारसँग गोप्य सूचना आदानप्रदान गरे–नगरेको विषयमा सोधपुछ गरिएको बताइएको छ। पोलिग्राफ परीक्षण भने अगस्टमा गरिएको हो।
यो कदमलाई सूचना चुहाउने व्यक्ति पहिचान गर्ने प्रयास मात्र नभई पेन्टागनभित्र रहेका अन्य अधिकारीलाई पनि सञ्चारमाध्यमसँग संवेदनशील सूचना साझा गर्न निरुत्साहित गर्ने दबाबका रूपमा हेरिएको छ।
संयुक्त सैन्य स्टाफमा विश्वभर तैनाथ अमेरिकी सैन्य कमान्डसँग अभियान, नीति र युद्ध योजनाको समन्वय गर्ने करिब १ हजार ५०० देखि २ हजार अधिकारी तथा कर्मचारी कार्यरत छन्। यति ठूलो संख्यामा र उच्च तहका अधिकारीमाथि एकैपटक पोलिग्राफ परीक्षण गरिएको घटना अमेरिकी सैन्य वृत्तमा असाधारण मानिएको छ।
अमेरिकी नौसेनाका पूर्व शीर्ष न्यायाधिवक्ता रियर एडमिरल डोनाल्ड जे. गुटरले आधुनिक समयमा अमेरिकी सेनाको उच्च तहमा यति व्यापक रूपमा पोलिग्राफ प्रयोग भएको आफूलाई थाहा नभएको बताएका छन्। उनका अनुसार यो अभ्यास असामान्य र अभूतपूर्व देखिन्छ।
पेन्टागनका प्रवक्ता सियन पार्नेलले कर्मचारी वा आन्तरिक अनुसन्धानबारे टिप्पणी गर्न अस्वीकार गरे पनि राष्ट्रिय सुरक्षासँग जोडिएका वर्गीकृत सूचना चुहावटलाई मन्त्रालयले गम्भीर रूपमा लिने बताएका छन्। उनका अनुसार अमेरिकी सेना र विश्वभर खटिएका सैनिकको सुरक्षाका लागि संवेदनशील सूचनाको संरक्षण आवश्यक छ।
सूचना चुहावटलाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो प्रशासनलाई कडा अनुसन्धान गर्न दबाब दिँदै आएका छन्। इरान युद्धको व्यवस्थापन र अमेरिकी हतियारको अवस्थाबारे आएका आलोचनात्मक समाचारलाई उनले ‘देशद्रोही’सम्म भनेका छन्। यसले पेन्टागनभित्रको अविश्वास र आशंकालाई थप चर्काएको वर्तमान तथा पूर्व अधिकारीहरूको भनाइ छ।
रक्षा सचिव पिट हेगसेथको नेतृत्वमा पेन्टागनभित्र शक्ति र जिम्मेवारी पुनर्संरचनाको क्रम पनि तीव्र भएको बताइएको छ। हेगसेथले जिम्मेवारी सम्हालेयता दर्जनौँ उच्च सैन्य अधिकारीलाई हटाइएको वा उनीहरूको बढुवा रोकिएको विवरण सार्वजनिक भएका छन्।
पेन्टागनले गत वर्षदेखि नै विभिन्न सूचना चुहावटको अनुसन्धान अघि बढाउँदै आएको छ। तर संवेदनशील सूचना व्यवस्थापनकै विषयमा हेगसेथ स्वयं पनि विवादमा परिसकेका छन्। यमनमा गरिएको अमेरिकी हवाई आक्रमणसँग सम्बन्धित संवेदनशील विवरण ‘सिग्नल’ समूहमा साझा गरेको विषयमा उनको आलोचना भएको थियो।
यसबीच, इरानसँगको युद्धबारे हेगसेथले मे ५ यता पेन्टागनका पत्रकारलाई औपचारिक ब्रिफिङ नगरेको बताइएको छ। पेन्टागनमा पत्रकारको पहुँच सीमित गर्ने प्रयासलाई लिएर द न्युयोर्क टाइम्सले अदालतको समेत सहारा लिएको छ।
पेन्टागनभित्र गोप्य सूचना नियन्त्रण गर्ने नाममा पोलिग्राफसम्म पुग्नुले अमेरिकी रक्षा संयन्त्रभित्र बढ्दो अविश्वास र सूचना सुरक्षाको तनाव सतहमा आएको देखाएको छ।
