`

बालेन बोल्ने भएपछि राष्ट्रसंघको कार्यसूची बदलियो

Nepal One HD २० भदौ २०८३ १४:३९
बिशेष

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई आगामी असोज ८ गते सम्बोधन गर्ने भएका छन्।

नेपालले औपचारिक प्रस्ताव गरेपछि राष्ट्रसंघले वक्ताको तालिका संशोधन गर्दै शाहलाई २४ सेप्टेम्बरमा सम्बोधनको समय दिएको हो।

प्रधानमन्त्री नियुक्त भएको पाँच महिनापछि हुन लागेको यो शाहको पहिलो विदेश भ्रमण हुनेछ। यसअघि महासभामा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने तयारी थियो। तर भदौ १० गते रसुवाको भोटेकोसी क्षेत्रमा आएको विपत्तिपछि प्रधानमन्त्री आफैं महासभामा जाने निर्णय भएको हो।

महासभामा शाहले नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको विपद् र त्यसबाट भएको क्षतिको विषय उठाउने तयारी छ। विशेषगरी भोटेकोसीमा आएको विपत्तिलाई जलवायु न्यायसँग जोड्दै प्रभावित मुलुकलाई क्षतिपूर्ति र अन्तर्राष्ट्रिय सहयोगको विषय उनले विश्व समुदायसमक्ष राख्नेछन्।

२४ सेप्टेम्बरमा दिउँसो ३ देखि राति ९ बजेसम्म हुने सत्रमा नेपाल १७औँ वक्ताका रूपमा रहेको छ। सम्बोधनलगत्तै स्वदेश फर्किने गरी प्रधानमन्त्रीको भ्रमण छोटो बनाउने तयारी छ।

देशभित्र उद्धार, राहत र पुनःस्थापनाको काम जारी रहेकाले प्रधानमन्त्री लामो समय अमेरिका नबस्ने भएका हुन्। उनको अनुपस्थितिमा अधिकांश द्विपक्षीय तथा साइडलाइन भेटवार्ताको नेतृत्व परराष्ट्रमन्त्री खनालले गर्नेछन्।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्य तथा परराष्ट्र सचिव अमृतबहादुर राईलगायत अधिकारी रहनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *