`

सांसदलाई ‘बलात्कार गरेर मारिदिन्छु’ भन्दै हजारौँ धम्की आएपछि…

Nepal One HD २६ भदौ २०८३ १५:३०
बिशेष

काठमाडौं । नेकपा (एमाले)की सांसद एशुदाकुमारी बरालले आफूलाई बलात्कार गर्ने र ज्यान मार्ने धम्की दिइएको भन्दै सरकारसँग सुरक्षाको माग गरेकी छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बरालले आफूलाई सामाजिक सञ्जालमार्फत हजारौँ धम्कीपूर्ण सन्देश आएको दाबी गरिन् । उनका अनुसार रसुवाका बाढीपीडितको तत्काल उद्धार गर्न माग गरेकै कारण आफू साइबर बुलिङको निशानामा परेकी हुन् ।

‘मलाई नै बलात्कार गरेर मारिदिन्छु भन्ने हजारौँ म्यासेज आएका छन्,’ उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै भनिन् ।

बरालले महिलामाथि सामाजिक सञ्जालमा गालीगलौज, धम्की र चरित्रमाथि आक्रमण गर्ने प्रवृत्ति बढेको भन्दै त्यस्ता गतिविधिमा संलग्नलाई तत्काल कानुनी कारबाही गर्न माग गरिन् । सामाजिक सञ्जालमा ‘घण्टी’को तस्बिर राखेर समेत आफूलाई अपमानजनक सन्देश पठाउने गरिएको उनको दाबी छ ।

बाढीपीडितको उद्धार छिटो गर्न आवाज उठाउँदा आफूले नै धम्की खेप्नुपरेको भन्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्नसमेत उठाइन् ।

बरालले बाढीबाट प्रभावित महिला, सुत्केरी र अन्य पीडितको अवस्था गम्भीर रहेको बताउँदै सरकार संवेदनशील बन्नुपर्ने बताइन् । सडकमा सुत्केरी हुनुपर्ने, खाना नपाएर पीडितले चरम कदम चाल्नुपर्ने अवस्थालाई सामान्य रूपमा लिन नहुने उनको भनाइ थियो ।

‘सडकमा महिला सुत्केरी हुनु, सुत्केरी महिलाले खाना नपाएर हाम फाल्नु, शरीरमा आगो लगाउनु सरकारको नीति हो र ?’ भन्दै उनले सरकारलाई प्रश्न गरिन् ।

उनले साइबर बुलिङ र धम्कीलाई राजनीतिक असहमतिका नाममा छुट दिन नहुने बताउँदै महिलामाथि हुने डिजिटल हिंसा नियन्त्रणमा सरकार गम्भीर हुनुपर्ने माग गरिन् ।

स्रोत : प्रतिनिधिसभा बैठक


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *