भोटेकोशीको भेल, आँसु र बेपत्ता आफन्तको कथा गीतमा
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले दिएको पीडा समेटिएको गीत सार्वजनिक भएको छ। ‘भोटेकोशी रसुवाको बाढीले’ नामक तामाङ फापारे लयको गीत सार्वजनिक गरिएको हो।
गीतमा बाढीले पुर्याएको जनधनको क्षति समेटिएको छ। आफन्त गुमाएका परिवारको पीडा पनि प्रस्तुत गरिएको छ। बेपत्ता आफन्तको पर्खाइ र विस्थापनको कथा गीतमा छ।
भोटेकोशी बाढीबाट तामाङ समुदाय बढी प्रभावित भएको थियो। यही पीडालाई गीतमार्फत प्रस्तुत गरिएको हो।
सुमिना लो र खेम मोक्तानले गीतमा स्वर दिएका छन्। गीतका शब्द राजु मोक्तानले लेखेका हुन्। संगीत खेम मोक्तानको छ। एरेन्ज नोर्बु शेर्पाले गरेका छन्। मिक्सिङ दिपेश प्रधानले गरेका हुन्।
गीतमा टिमुरे बजारदेखि धुन्चेको हाटसम्मको विनाश चित्रण गरिएको छ। परिवारका सदस्य गुमाएका आमाको पीडा पनि समेटिएको छ। घरबारविहीन बनेका परिवारको दुःखलाई पनि गीतले बोकेको छ।
गीतमा नुवाकोट र धादिङमा भएको क्षतिको प्रसंग पनि छ। चीनतर्फबाट आएको भेलले भोटेकोशी क्षेत्रमा निम्त्याएको विपद्लाई स्थानीय जनताको पीडासँग जोडिएको छ।
विपद्का बेला सरकारको भूमिकामाथि पनि प्रश्न उठाइएको छ। राहत र उद्धार प्रभावकारी नभएको गुनासो गीतमार्फत गरिएको छ।
गीतमा बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ। विपद्को सामना सबै मिलेर गर्नुपर्ने सन्देश पनि दिइएको छ।
गीतको रेकर्डिङ अर्पण स्टुडियो, बौद्धमा गरिएको हो। ‘भोटेकोशी रसुवाको बाढीले’ को अफिसियल भिडियो खेन्चे क्रियसन एण्ड खेम मोक्तान युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो।
