`

अझै को-को देउवाप्रति वफादार? [सूचीसहित]

Nepal One HD २ असोज २०८३ १४:२१
बिशेष

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबार (असोज ३) वडा अधिवेशन हुँदै छ।

तामझामका साथ हङकङबाट फर्किएका शेर बहादुर देउवा अहिले एक्लिएका छन्। महाधिवेशनको पूर्वसन्ध्यामा भने कांग्रेसभित्रको समीकरण तीव्र रूपमा फेरिएको छ। देउवा पक्षका पिल्लर मानिने नेता सानेपातिर झुल्किन लागेका छन्।

पूर्वसभापति शेरबहादुर देउवानिकट अधिकांश नेता उनको साथ छाडेर सभापति गगन थापा नेतृत्वको कार्यसमितिमा खुलेका छन्। बिहीबार सानेपामा बसेको केन्द्रीय समिति बैठकमा देउवानिकट नेताहरूको ठूलो समूह सहभागी भयो।

मीन विश्वकर्मादेखि रामहरि खतिवडासम्मका नेताहरू देउवा छाडेर गगन नेतृत्वको कार्यसमितिमा पुगेका छन्। उनीहरूले १५औँ महाधिवेशनको प्रक्रियालाई स्वीकार गरेका छन्।

पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट अधिकांश नेता पनि संस्थापन समूहमा पुगिसकेका छन्। खड्का भने महाधिवेशनको कार्यतालिका स्थगित गरी निर्णायक वार्ता गर्नुपर्ने पक्षमा छन्।

नेता शेखर कोइराला पनि पार्टी एकताको पक्षमा छन्। उनी दुवै महाधिवेशनमा सहभागी नहुने धारमा देखिएका छन्। तर, उनीनिकट केही नेता अझै अन्योलमा छन्।

यसबीच देउवाको साथमा भने केही प्रभावशाली नेता अझै छन्। देउवानिकट नेताहरूमा प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का, मानबहादुर विश्वकर्मा, एनपी साउद, आनन्द ढुंगाना, अम्बिका बस्नेत, शंकर भण्डारी, रमेश लेखक, मोहनबहादुर बस्नेत, शिव हुमागाईं, करणराज शर्मा पौडेल, जितजंग बस्नेत, गुरु बराल, कुन्दनराज काफ्ले, मदन अमात्य, गोविन्दबहादुर शाह, नृपबहादुर वड, रंगमति शाही, विद्या तिमल्सिना, सीतादेवी देवकोटा पाण्डे, लक्ष्मी खतिवडा र कल्याणी रिजाललगायत छन्।

तर, देउवासँग रहेका यीमध्ये केही नेता पनि संस्थापन समूहमा जाने तयारीमा रहेको बताइएको छ। त्यसैले वडा अधिवेशन सुरु हुनुअघि नै देउवा पक्षको यो सूचीमा फेरबदल हुनसक्ने देखिन्छ।

महाधिवेशनको पूर्वसन्ध्यामा देउवाको साथ छाड्ने नेताको संख्या बढ्दै जाँदा अब उनको साथमा को–को टिक्छन् भन्ने विषय कांग्रेसभित्र चासोको विषय बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *