दलित समुदायका लागि छुट्याइएको बजेट सरकारले खोसेको सोमप्रसाद पोर्तेलको आरोप
काठमाडौं । राष्ट्रिय सभा सदस्य तथा नेकपा (एमाले) का नेता सोमनाथ पोर्तेलले दलित समुदायको परम्परागत पेशा प्रवर्द्धनका लागि अघिल्लो सरकारले छुट्याएको बजेटसमेत वर्तमान सरकारले कटौती गरेको आरोप लगाएका छन्।
राष्ट्रिय सभाको आजको बैठकमा शून्य समयमा बोल्दै पोर्तेलले दलित समुदायको उत्थान र विकासका लागि विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले दलित समुदायका लागि विनियोजन गरिएको बजेट कार्यान्वयन नगरेको दाबी गरे।
उनका अनुसार तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दलित समुदायको परम्परागत पेशा प्रवर्द्धनका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर, वर्तमान सरकार गठन भएपछि २०८३ वैशाखमा ४० करोड रुपैयाँ रकमान्तर गरिएको उनले बताए।
बाँकी १० करोड रुपैयाँमध्ये ३ करोड ५० लाख १७ हजार ५५६ रुपैयाँ मात्र लाभग्राहीले प्राप्त गरेको र करिब साढे ६ करोड रुपैयाँ फ्रिज भएको पोर्तेलको भनाइ छ।
कार्यक्रमअन्तर्गत १ हजार ६ सयभन्दा बढी व्यवसायीलाई प्रत्यक्ष लाभ पुर्याउने लक्ष्य राखिएको भए पनि ११५ जना व्यवसायीले मात्रै लाभ पाएको उनले बताए।
‘यो सरकारले आफूले त दलित समुदायको पक्षमा बजेट छुट्याएन नै, विगतको सरकारले छुट्याइदिएको बजेटसमेत खोसेको छ,’ पोर्तेलले भने।
उनले दलित समुदायका लागि विनियोजित बजेट कटौती गरिएको विषयको भर्त्सना गर्दै क्षतिपूर्ति हुने गरी आगामी बजेटमा आवश्यक व्यवस्था गर्न सरकारसँग माग गरे।
