रामहरि खतिवडाले अड्काए हलाे !
काठमाडाैं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभर पालिकास्तरीय अधिवेशन जारी छ। ओखलढुंगामा भने आठ स्थानीय तहमध्ये सातवटामा सर्वसम्मत रूपमा नेतृत्व चयन हुँदा एउटा पालिकामा विवाद देखिएको छ।
जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका बाहेक सबै पालिका तथा वडामा सर्वसम्मत नेतृत्व चयन भएको हो। मानेभञ्ज्याङमा भने सभापति पदका लागि दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ।
मानेभञ्ज्याङ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसांसद रामहरि खतिवडाको गृहपालिका हो। खतिवडाले आफ्नै स्वकीय सचिव हुकुम राईलाई सभापतिको उम्मेदवार बनाएका छन्। राईविरुद्ध वडा नम्बर ७ टोक्सेलका वडाध्यक्ष विष्णु गौतमले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
अर्का प्रत्यासी राममणि राईले भने सहमतिको प्रयासका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। त्यसपछि हुकुम राई र विष्णु गौतमबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो।
सबै स्थानीय तहमा सहमतिमै नेतृत्व चयन भइरहेका बेला खतिवडाको गृहपालिकामै विवाद देखिएपछि उनको भूमिकामाथि प्रश्न उठेको छ।
स्थानीय कांग्रेस नेताहरू र क्षेत्रीय प्रतिनिधिहरूले अधिकांश पालिकामा सहमति कायम भइरहँदा मानेभञ्ज्याङमा भने नेतृत्व चयनका लागि मतदानको अवस्था आउनु अस्वाभाविक भएको बताएका छन्।
क्षेत्रीय प्रतिनिधि र पालिकाका अधिकांश नेताहरूले सर्वसम्मतिमै नेतृत्व चयन गर्ने प्रयास गरे पनि खतिवडाले आफ्नो उम्मेदवारका नाममा सहमति नभए निर्वाचनमा जाने अडान लिएको स्थानीय नेताहरूको दाबी छ। यसले पार्टीभित्रको आन्तरिक असमझदारी थप बढाउन सक्ने उनीहरूको भनाइ छ।
स्थानीय नेताहरूले सबै स्थानीय तहमा सहमति जुटाउने प्रयास भइरहँदा आफ्नै गृहपालिकामा भने सहमति कायम गर्न नसकिएको विषयलाई अर्थपूर्ण रूपमा लिएका छन्। उनीहरूका अनुसार खतिवडाले चाहेमा अझै पनि सहमतिको सम्भावना रहेको छ।
दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने पक्का भएपछि निर्वाचन समितिले बिहीबार बिहान मतदानका लागि आवश्यक तयारी गरेको जनाएको छ।
यसैबीच, ओखलढुंगाका अन्य सात स्थानीय तहमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ। खिजीदेम्बा गाउँपालिकाको सभापतिमा मानबहादुर महतरा, मोलुङ गाउँपालिकामा फणीन्द्र ढकाल, सिद्धिचरण नगरपालिकामा निवन्ध श्रेष्ठ, लिखु गाउँपालिकामा गोपाल खड्का, सुनकोशी गाउँपालिकामा विष्णु आलेमगर, चम्पादेवी गाउँपालिकामा विष्णु पुलामी मगर र चिशंखुगढी गाउँपालिकामा रामचन्द्र कार्की सभापतिमा सर्वसम्मत चयन भएका छन्।
यसरी जिल्लाका आठमध्ये सात पालिकामा सर्वसम्मति कायम भए पनि मानेभञ्ज्याङमा मात्रै मतदान हुने भएपछि कांग्रेसको स्थानीय नेतृत्व व्यवस्थापनमा खतिवडाको भूमिकालाई लिएर प्रश्न उठेको छ।
