`

देशभर वर्षाको वितण्डा : राजमार्ग ठप्प,नदी किनारमा उच्च सतर्कता

Nepal One HD ९ असोज २०८३ १८:१०
बिशेष

काठमाडौं । बिहीबारदेखि जारी अविरल वर्षाले देशभर जनजीवन प्रभावित भएको छ। बाढी र पहिरोका कारण विस्थापित भएर अस्थायी संरचनामा बसिरहेका परिवारदेखि सडकमा अलपत्र यात्रुसम्म थप समस्यामा परेका छन्।

विभिन्न नदीमा जलसतह बढेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ भने पहिरोका कारण प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्।

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट विस्थापित परिवार निरन्तरको वर्षाका कारण थप संकटमा परेका छन्। खुला स्थानमा निर्माण गरिएका टहरा तथा टेन्टमा पानी पस्दा राहतमा पाएका खाद्यान्न, लत्ताकपडा र अन्य सामग्री जोगाउनसमेत समस्या भएको छ।

रसुवाबाट विस्थापित भई नुवाकोटमा बस्दै आएका उत्तरगया गाउँपालिका १ का वडाध्यक्ष मानसिंह तामाङका अनुसार टेन्टमा छानाबाट चुहिएको पानीसँगै जमिनबाट बगेको भलसमेत पसिरहेको छ।

रसुवाबाट विस्थापित भई नुवाकोटका विभिन्न स्थानमा बसोबास गरिरहेका ३४४ परिवारमध्ये १४२ परिवार विदुर नगरपालिका ५, बाणाचौतारोमा अस्थायी टेन्टमा बसिरहेका छन्। वर्षाका कारण टेन्टभित्र पानी पसेपछि खाद्यान्न तथा लत्ताकपडा भिजेका छन्। ज्येष्ठ नागरिक र बालबालिकाको अवस्था झन् कठिन बनेको प्रभावितको भनाइ छ।

खाल्डेबाट विस्थापित भएर बाणाचौतारोमा बस्दै आएका दावामिङ्मार तामाङले टेन्टभित्र पानी पसेपछि सामान जोगाउनै मुस्किल भएको बताए।

‘टेन्टमा पानी पसेपछि सामान जोगाउनै समस्या भएको छ। जमिन हिलाम्मे बनेको छ। चिसो बढेपछि ज्येष्ठ नागरिक र बालबालिकालाई बढी समस्या भएको छ,’ उनले भने।

वर्षाका कारण प्रभावितको बसाइ थप कष्टकर बनेपछि नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाले टेन्टमा त्रिपाल थपेर सहयोग गरिरहेको छ। शाखाका मन्त्री उद्धव शर्मा रिजालका अनुसार बाणाचौतारोसहित जिल्लाका पाँच स्थानमा स्वयंसेवक परिचालन गरी टेन्टमा त्रिपाल ओढाउने र पानीको निकास बनाउने काम भइरहेको छ।

निरन्तर वर्षाले बाढीले पुरिएका संरचनाको भग्नावशेष हटाउने तथा सुरक्षित सामग्री निकाल्ने कामसमेत प्रभावित भएको छ। त्रिशूली बजार तथा त्रिशूली नदीको पारिपट्टि बाढीले पुरिएका संरचनामा खोज तथा उद्धार गर्न कठिनाइ भएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताए।

भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीबाट नुवाकोटमा दुई हजार १०० भन्दा बढी घरपरिवार प्रत्यक्ष प्रभावित भई घरबारविहीन भएका छन्। भाडामा बस्ने तथा व्यवसाय गर्दै आएका परिवारसमेत जोड्दा बाढीपछि जिल्लामा दुई हजार ५०० भन्दा बढी परिवार प्रभावित भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ।

भारतको उत्तराखण्डस्थित पिथौरागढमा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएपछि महाकाली नदीमा जलस्तर बढ्न सक्ने चेतावनी दिइएको छ।

एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावर स्टेसनबाट प्राप्त जानकारीअनुसार आइतबार राति १२ बजेदेखि सोमबार बिहान १० बजेसम्म सिल्ट सफाइका लागि बाँध खोलिनेछ।

बाँध खोल्दा महाकालीको जलस्तर बढ्न सक्ने भएकाले दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। नदी किनारमा नजानसमेत स्थानीयलाई अनुरोध गरिएको छ।

कास्कीको मार्दीखोला र सुनसरीको चतारास्थित सप्तकोशी नदीमा जलसतह बढेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको छ।

शुक्रबार दिउँसो लाहाचोकस्थित मार्दीखोला जलमापन केन्द्रमा नदीको जलसतह सतर्कता तह पार गरेको थियो। बहाव अझै बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई उच्च सतर्क रहन आग्रह गरिएको छ।

रुपन्देहीको तिनाउ नदीले पनि सतर्कता तह पार गरेको छ। नदीको जलसतह निरन्तर बढिरहेकाले तटीय क्षेत्र र होचा भूभागमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन भनिएको छ।

बुटवलमा तिनाउ पुलमुनि बस्दै आएका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। पुलमुनि बस्दै आएकी सुमित्रा दमाईसहित २० जनालाई कान्ति माध्यमिक विद्यालयमा सारिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

अविरल वर्षासँगै पहिरो खस्दा पृथ्वी राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएका छन्। धादिङमा मात्रै पाँच स्थानमा सडक प्रभावित भएको छ।

बेनीघाट रोराङ गाउँपालिका ७ को कृष्णभिर, वडा नम्बर १० को तिग्राडखानी र ज्वाङखोला, वडा नम्बर ९ को ज्यामिरेघाट तथा गजुरी गाउँपालिका २ को परेवा भिरमा पहिरो खसेको छ।

कृष्णभिरमा माथिबाट ढुङ्गासहित पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको छ। पहिरो पन्छाउने क्रममा समेत माथिबाट ढुङ्गा खस्न नरोकिएपछि काम रोकिएको प्रशासनले जनाएको छ।

परेवा भिरमा रुखसहित पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा छ। ज्वाङखोलामा पनि ढुङ्गासहित पहिरो खसेर सडक एकतर्फी अवरुद्ध भएको छ।

यस्तै, सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पा सडकखण्डमा सिद्धबाबा मन्दिर नजिकै पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ। तिनाउ गाउँपालिका ५ चरचरेमा समेत पहिरोले सडक प्रभावित भएको छ।

भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाबाट धनगढी आउने तथा धनगढी हुँदै अन्यत्र जाने लामो दूरीका बस सेवा प्रभावित भएका छन्।

यातायात व्यवसायीले शुक्रबारदेखि आइतबारसम्म विभिन्न रुटमा लामो दूरीका बस सञ्चालन नगर्ने निर्णय गरेका छन्। काठमाडौँ, पोखरा लगायत पूर्वतर्फ जाने बससमेत तत्काल सञ्चालन नगर्ने निर्णय गरिएको छ।

सुदूरपश्चिम यातायात प्रालिका कोषाध्यक्ष गोविन्द शाहका अनुसार बिहीबारदेखि नै लामो दूरीका रात्रिबस रोकिएका थिए। शुक्रबार बिहानदेखि पहाडी तथा विकट क्षेत्रमा जाने बससमेत रोकिएको उनले बताए।

धनगढीबाट पोखरातर्फ दैनिक दुई तथा काठमाडौँतर्फ १३ वटा रात्रिबस सञ्चालन हुँदै आएका थिए। मौसम प्रतिकूल भएपछि ती बस गन्तव्यतर्फ पठाइएको छैन।

अविरल वर्षाका कारण चितवनका सातै स्थानीय तहले शुक्रबार एक दिनका लागि विद्यालय बन्द गरेका छन्।

शिक्षा विकास तथा समन्वय एकाइ चितवनका अनुसार जिल्लाका ४९७ विद्यालय बन्द भएका छन्। ती विद्यालयमा एक लाख ६९ हजार ३५६ विद्यार्थी अध्ययनरत छन्।

सम्भावित बाढी, डुबान र पहिरोको जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्द गरिएको जनाइएको छ।

ललितपुरको च्यासल क्षेत्रमा नदीको सतह बढेपछि गृहमन्त्री सुधन गुरुङले शुक्रबार स्थलगत निरीक्षण गरेका छन्। एमाले पार्टी कार्यालय आसपास मनोहरा खोलाको पानी सडकको तहसम्म पुगेको थियो।

गृहमन्त्री गुरुङले जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले पनि बागमती नदी किनारको निरीक्षण गरेका छन्। उनले नदीको बहाव, किनारको अवस्था तथा सम्भावित जोखिमयुक्त क्षेत्रबारे सुरक्षा निकायसँग जानकारी लिएका थिए।

भक्तपुरमा मुलपानी र बोडे जोड्ने मनोहरा खोलाको पुलसँगैको जमिन भासिएपछि पुलबाट आवागमन रोकिएको छ। ग्याविन जालीको भाग भासिएपछि सुरक्षाका लागि आवागमन बन्द गरिएको हो।

यस्तै, खस्याङ खुसुङ खोलाको सतह बढेर डेकुचाबाट चाँगुनारायण जाने सडकसम्म पानी पुगेको छ। लोकन्थली नजिक सागबारीमा नदीको पानी टहरासम्म पुगेपछि त्यहाँ बस्दै आएका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

पृथ्वी राजमार्ग र कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएपछि त्रिभुवन राजपथमा सवारीको चाप बढेको छ। त्यसलाई व्यवस्थापन गर्न मकवानपुर प्रशासनले आलोपालो प्रणाली लागू गरेको छ।

हेटौँडाबाट काठमाडौँतर्फ जाने तथा काठमाडौँबाट हेटौँडातर्फ आउने सवारीका लागि छुट्टाछुट्टै समय तोकिएको छ।

सडकको अवस्था र जामको जोखिमलाई ध्यानमा राख्दै १० चक्केभन्दा लामा तथा १५ टनभन्दा बढी भार भएका मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको छ। इन्धन र एलपी ग्यास बोकेका सवारी भने यसबाट अलग राखिएका छन्।

यात्रुवाहक बसमा समेत बढीमा ११ मिटर लम्बाइसम्मका बसलाई मात्र सञ्चालन अनुमति दिइएको छ।

मौसमविद् राजन लामिछानेका अनुसार बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ।

पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनीका अधिकांश स्थानमा भारी तथा केही स्थानमा धेरै भारी वर्षा भएको छ। पाल्पाको अर्चलेमा १४० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ।

न्यून चापीय प्रणाली भारतको छत्तीसगढ आसपासमा रहेकाले यसको प्रभाव क्रमशः पश्चिमतर्फ सर्ने मौसमविद् लामिछानेले बताएका छन्। आज र भोलि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको गतिविधि बढी हुने पूर्वानुमान छ।

पूर्वी क्षेत्रमा भने वर्षाको गतिविधि क्रमशः घट्ने देखिएको छ। असोज १० गतेसम्म पश्चिमी क्षेत्रमा वर्षा बढ्न सक्ने र असोज ११ गतेपछि पूर्वी क्षेत्रमा मौसम सुधार हुने सम्भावना छ। असोज १२ गतेदेखि देशभर मौसम क्रमशः सुधार हुने तथा असोज १३ गतेदेखि वर्षाको प्रभाव अझ कम हुने अनुमान गरिएको छ।

लगातारको भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम कायमै रहेकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न तथा अत्यावश्यक यात्रा गर्नुपरे सडक र मौसमको अवस्था बुझेर मात्रै अघि बढ्न सम्बन्धित निकायले आग्रह गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *