…जब नेतन्याहूको भाषण सुरु नहुँदै प्रतिनिधि बाहिरिए
काठमाडौं। संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि नै सभाकक्षमा असहज दृश्य देखियो। विभिन्न देशका प्रतिनिधिहरू एकपछि अर्को गर्दै बाहिरिए।
न्युयोर्कमा जारी महासभाको अधिवेशनमा नेतन्याहूको भाषण सुरु हुनुअघि केही प्रतिनिधि सभाकक्षबाट निस्किएका थिए। सम्बोधन सुरु भएपछि बाहिरिने प्रतिनिधिको संख्या थपिएको थियो।
प्रतिनिधिहरू बाहिरिँदै गरेको दृश्यबीच नेतन्याहूले आफ्नो सम्बोधन सुरु गरे। उनले सभाकक्ष छाड्ने प्रतिनिधिमाथि सुरुमै तीखो टिप्पणी गरे।
‘यदि अझै कुनै नैतिक रूपमा कायर व्यक्ति यस सभाकक्षमा बसिरहेको छ भने कृपया अहिले नै बाहिर जानुहोस्,’ उनले भने।
नेतन्याहूले इजरायललाई सार्वजनिक रूपमा समर्थन गर्ने तर महासभाको सभाकक्षमा भने आफ्नो सम्बोधन बहिष्कार गर्ने देशका प्रतिनिधिमाथि पनि प्रश्न उठाए।
उनले यस्तो व्यवहारलाई ‘आश्चर्यजनक पाखण्ड’ भने। सार्वजनिक रूपमा इजरायलप्रति समर्थन जनाउने र निजी रूपमा फरक धारणा राख्ने प्रवृत्ति रहेको उनको दाबी थियो।
सभाकक्षबाट प्रतिनिधिहरू बाहिरिनु र त्यसलगत्तै नेतन्याहूको तीखो प्रतिक्रिया आउनुले महासभामा उनको सम्बोधन सुरु हुँदाकै दृश्यलाई चर्चाको विषय बनाएको छ।
