कांग्रेसमा गगनकै रजगज
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनले पार्टीको नेतृत्व समीकरण नै फेरिने संकेत गरेको छ।
देउवापछिको पुस्ताका ठूला नेताहरू एकैपटक नेतृत्वको दौडबाट बाहिरिँदा नयाँ पुस्ताका लागि सभापतिको मैदान खुला भएको छ।
असोज १६ देखि १९ गतेसम्म हुने महाधिवेशनमा सभापति र पदाधिकारीमा मुख्यतः ६० वर्षमुनिका नेताहरू देखिने भएका छन्।
पूर्णबहादुर खड्का, शशांक कोइराला, शेखर कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहजस्ता नेताहरू भने मूलधारको महाधिवेशनमा प्रतिस्पर्धा नगर्ने अवस्थामा पुगेका छन्।
विशेष महाधिवेशनको विवादले यो समीकरण बदलिएको हो। अदालत र निर्वाचन आयोगका निर्णयपछि गगन थापा नेतृत्वको समितिलाई कांग्रेसको आधिकारिक संरचनाका रूपमा अघि बढाइएको छ। पार्टी कार्यालय, चुनाव चिह्न, झण्डा र आधिकारिक हस्ताक्षरको अधिकार पनि यही समितिसँग रहेको छ।
देउवापछिको नेतृत्वका स्वाभाविक दाबेदार मानिएका पूर्णबहादुर खड्का यसपटक सभापतिको दौडमा छैनन्।
७० वर्षीय खड्का विद्यार्थी राजनीतिबाट कांग्रेसको केन्द्रसम्म पुगेका नेता हुन्। जिल्ला सभापतिदेखि महामन्त्री, उपसभापति हुँदै कार्यवाहक सभापतिसम्मको जिम्मेवारी सम्हालिसकेका उनी देउवा पक्षबाट सभापतिको बलियो दाबेदार मानिन्थे।
तर विशेष महाधिवेशनको विवादमा अदालत पुगेपछि उनी गगन थापा नेतृत्वको महाधिवेशनमा सहभागी नहुने अवस्थामा पुगे । मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले महाधिवेशनमा सहभागी हुनु उचित नहुने उनको धारणा छ।
१४औँ महाधिवेशनमा देउवालाई सभापतिमा चुनौती दिएका शेखर कोइराला पनि यसपटक मूलधारको मैदानमा छैनन्।
७७ वर्षीय कोइराला कांग्रेसभित्रको विवाद समाधान गरेर एउटै महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। उनले दुवै पक्षले घोषणा गरेका महाधिवेशनमा सहभागी नहुने अडान लिएका छन्।
बीपी कोइरालाका पुत्र शशांक कोइराला पनि गगन थापा नेतृत्वको मूलधारको महाधिवेशनबाट बाहिरिएका छन्।
६७ वर्षीय शशांक देउवा पक्षबाट हुने छुट्टै महाधिवेशनको तयारीमा सक्रिय छन्। संस्थापनइतरका शीर्ष नेताहरूले उनलाई समूहको संयोजक बनाउने तयारी गरेका छन्।
विमलेन्द्र निधिको सभापति बन्ने सपना पनि अनिश्चित बनेको छ। १४औँ महाधिवेशनमा देउवाविरुद्ध उम्मेदवारी दिएका निधिले २५० मत पाएका थिए। अहिले उनी संस्थापनइतरबाट सभापतिको उम्मेदवार बन्ने वा नबन्ने टुंगोमा छैनन्।
प्रकाशमान सिंह पनि मूल नेतृत्वको दौडमा स्पष्ट छैनन्। १४औँ महाधिवेशनमा पहिलो चरणमा ३७१ मत पाएका सिंह दोस्रो चरणमा देउवाको पक्षमा उभिएका थिए। विशेष महाधिवेशनको विपक्षमा रहेका उनी संस्थापनइतरबाट सभापतिको उम्मेदवार बन्ने विषयमा निर्णयमा पुगेका छैनन्।
कृष्णप्रसाद सिटौलाको अवस्था पनि उस्तै छ। १३औँ महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका सिटौलाले ३२४ मत पाएका थिए। १४औँ महाधिवेशनमा भने उनी कुनै पदमा उठेनन् र देउवासँग सहकार्य गरे।
कांग्रेसको नेतृत्वमा लामो समयदेखि प्रभाव राख्दै आएका दोस्रो पुस्ताका नेताहरू एकैपटक मूल प्रतिस्पर्धाबाट बाहिरिएका छन्।
अब सभापतिको दौडमा युवा पुस्तादेखि ६० वर्षमुनिका नेताहरू अगाडि आउने अवस्था बनेको छ। यसले कांग्रेसको नेतृत्व संरचनामा पुस्तान्तरणको बहसलाई थप बल दिएको छ।
एकातिर पुरानो पुस्ता महाधिवेशनको विवादमा अल्झिएको छ। अर्कोतिर नयाँ पुस्ता नेतृत्वको मैदानमा उत्रिने तयारीमा छ।
त्यसैले १५औँ महाधिवेशन कांग्रेसका लागि केवल नयाँ नेतृत्व छान्ने चुनाव मात्र होइन, पुरानो पुस्ता र नयाँ पुस्ताबीच नेतृत्व हस्तान्तरणको निर्णायक मोड बन्ने देखिएको छ।
