`

एआईको विकास सुस्त पार्नुपर्ने विज्ञहरुको चेतावनी

Nepal One HD ११ असोज २०८३ १६:०७
फिचर

काठमाडौं। विज्ञहरुले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास तीव्र गतिमा अघि बढिरहेको भन्दै त्यसलाई केही समय सुस्त पार्नुपर्ने बताएका छन्। एआईको क्षमता बढ्ने क्रमसँगै त्यसको सुरक्षा र नियन्त्रणका उपाय पर्याप्त रूपमा विकास हुन नसकेको भन्दै सम्भावित जोखिमबारे विज्ञहरुले चेतावनी दिएका हुन्।

उनीहरुका अनुसार पर्याप्त नियन्त्रणबिना विकसित एआई एजेन्टले आगामी ६ देखि १२ महिनामै साइबर आक्रमणका लागि प्रयोग हुने ठूलो ‘बोटनेट’ निर्माण गर्न सक्ने जोखिम छ। बोटनेट संक्रमित वा नियन्त्रणमा लिइएका कम्प्युटरहरूको सञ्जाल हो, जसलाई साइबर आक्रमणमा प्रयोग गर्न सकिन्छ।

एआई प्रणालीले विकासकर्ताले अपेक्षा नगरेका तरिकाबाट लक्ष्य पूरा गर्न थालेका घटनाले पनि सुरक्षा चिन्ता बढाएको छ। परीक्षणका क्रममा केही एआई एजेन्टले सीमित वातावरणका कमजोरीको फाइदा उठाएर बाह्य प्रणालीमा पहुँच बनाएको बताइन्छ।  यही सम्बन्धित अर्काे घटनामा जिमको बुकिङ प्रणालीको कमजोरी प्रयोग गरी निर्धारित समयभन्दा अगावै आरक्षण गरेको विवरण सार्वजनिक भएका छन्।

यससँगै एआईले आफूभन्दा अझ सक्षम प्रणाली निर्माण गर्न सहयोग गर्ने ‘रिकर्सिभ सेल्फ-इम्प्रुभमेन्ट’ को सम्भावनाबारे पनि बहस भइरहेको छ। यस्तो क्षमता विकास भए एआईको प्रगति अपेक्षाभन्दा तीव्र हुन सक्ने चिन्ता व्यक्त भइरहेका छन्।

एआईका सम्भावित जोखिममा साइबर आक्रमण, संवेदनशील डेटा चोरी, वित्तीय प्रणालीमा अस्थिरता तथा जैविक सुरक्षामा दुरुपयोगसम्मका विषय समेटिएका छन्। यद्यपि यस्ता जोखिमका सम्भावित परिदृश्यबारे विज्ञहरूबीच मतभेद पनि छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *