त्रिपुरेश्वरमा ज्यान गुमाएका बस चालकको परिवारलाई सरकारले बेवास्ता गरेको सांसदको गुनासो
काठमाडौं । त्रिपुरेश्वरमा बसभित्र आगलागी हुँदा ज्यान गुमाएका चालक अर्जुन दोङ तामाङको परिवारसँग सरकारले अहिलेसम्म समन्वय नगरेको भन्दै श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै राईले मृतक चालकको परिवार गृहमन्त्रीलाई भेट्न खोज्दा पनि भेट्न नपाएको बताए।
‘अर्जुन दोङ तामाङको परिवारसँग सरकारले केही पनि समन्वय र वार्ता नगरेको भन्नेछ,’ उनले भने, ‘उहाँहरू अहिले बाहिर आएर गृहमन्त्रीज्यूसँग भेट्न कुरिरहनुभएको छ। तर भित्र छिर्न पाउनुभएको छैन। यो के भएको हो?’
राईले घटनापछि पीडित परिवारसँग संवाद गरी उनीहरूको गुनासो र मागबारे सरकार गम्भीर हुनुपर्ने बताए।
त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा चालक तामाङको मृत्यु भएको थियो। प्रहरीले उनको पहिचान मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीका २५ वर्षीय अर्जुन दोङ तामाङका रूपमा पुष्टि गरेको थियो।
सांसद राई खोटाङ–१ बाट श्रम संस्कृति पार्टीका प्रतिनिधिसभा सदस्य हुन्।
