‘डिजिटल वार’मा उत्रिन कार्यकर्तालाई आह्वान ओलीको निर्देशन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेद र असमझदारीलाई लिएर अल्झिरहन नेता–कार्यकर्तालाई चेतावनी दिएका छन्।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यलाई बुधबार भर्चुअल सम्बोधन गर्दै ओलीले पार्टीको आन्तरिक एकता बलियो बनाएर आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन्।
उनले आफ्नै सहकर्मीको सामान्य आलोचना र असहमतिलाई पनि सहज रूपमा लिनुपर्ने बताए।
‘शत्रुका लात सहने, तर आफ्ना साथीका बात नसहने काम अब बन्द गरौँ । सानातिना असमझदारी छाडेर साझा सङ्कल्पका साथ एमाले एकजुट भएर अघि बढ्नुपर्छ’, ओलीले भने।
पार्टीभित्र समस्या नै छैन भनेर ढाकछोप गर्नुभन्दा देखिएका कमजोरी सच्याउँदै संगठनलाई चलायमान बनाउनुपर्ने उनको भनाइ थियो। विरोधीहरूले एमाले फुट्ने अपेक्षा गरे पनि पार्टी विचार र संगठनका हिसाबले एकताबद्ध रहेको ओलीले दाबी गरे।
एक निर्वाचनको परिणामले मात्रै निराश हुनुपर्ने अवस्था नरहेको बताउँदै उनले विगतमा भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीले चुनावी हारपछि पुनरागमन गरेको प्रसंगसमेत सुनाए।
‘हामी एउटा मोर्चामा हारेका मात्र हौँ। सत्य हाम्रै पक्षमा छ, त्यसैले आत्मविश्वासका साथ अघि बढ्नुपर्छ’, ओलीले भने।
ओलीले एमालेविरुद्ध सामाजिक सञ्जाल र सूचना प्रविधिमार्फत भ्रम फैलाउने प्रयास भइरहेको भन्दै त्यसको जवाफ तथ्य र प्रमाणसहित दिनुपर्ने बताए।
पार्टीले गरेका काम र उपलब्धि जनतासम्म पुर्याउन डिजिटल माध्यमलाई प्रभावकारी रूपमा प्रयोग गर्नुपर्ने उनको जोड थियो। यसअघि पनि ओलीले पार्टीको डिजिटल अभिलेख निर्माण र संगठन सुदृढीकरणलाई तीव्रता दिन निर्देशन दिएका थिए।
उनले नेता–कार्यकर्तालाई केन्द्रमा बसेर मात्र राजनीति नगरी आफ्नो जिम्मेवारी रहेको क्षेत्रमा खटिन पनि निर्देशन दिएका छन्। पार्टीले आगामी निर्वाचनलाई लक्षित गरेर संगठन परिचालन र प्रचार अभियानलाई अघि बढाउने तयारी गरिरहेको छ।
भर्चुअल बैठकमा महासचिव शंकर पोखरेलसहित उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल तथा सचिवहरू भानुभक्त ढकाल, पद्मा अर्याललगायत नेताहरू सहभागी थिए।
महासचिव पोखरेलले केन्द्रीय कमिटीको तेस्रो बैठकका निर्णय र पार्टी निर्देशिका छिट्टै तल्लो तहसम्म पठाइने जानकारी दिएका थिए।
पार्टीको डिजिटल अभिलेख, संगठन सुदृढीकरण र सदस्यता विस्तारका कामलाई समेत अघि बढाइने एमालेले जनाएको छ।
