खेम सेन्चुरीको ‘बाहुन बाजे’ गीत विवाद सहमतिमा टुंगियो, विवादित शब्द हटाइने
काठमाडौं । लोकगायक खेम सेन्चुरीको गीत ‘बाहुन बाजे किन कसेको’ लाई लिएर सुरु भएको विवाद विवादित शब्द हटाउने सहमतिपछि टुंगिएको छ।
गीतमा प्रयोग भएका केही शब्दले बाहुन समुदायलाई होच्याएको भन्दै परेको उजुरीपछि साइबर ब्युरोको रोहबरमा भएको छलफलमा सेन्चुरीले विवादित अंश सम्पादन गर्ने लिखित सहमति जनाएका हुन्।
त्यस्तै, बुधबार सेन्चुरी र उजुरीकर्ता पक्षबीच डेढ घण्टाभन्दा बढी छलफल भएको थियो। मंगलबार भएको पहिलो चरणको छलफल निष्कर्षविहीन भएपछि दुवै पक्षलाई बुधबार पुनः बोलाइएको थियो। दोस्रो दिनको छलफलमा सहमति जुटेको हो।
उजुरीकर्ताले गीतमा प्रयोग भएको केही शब्दले बाहुन समुदायलाई लक्षित गरी अपमान गरेको दाबी गर्दै साइबर ब्युरोमा उजुरी दिएका थिए। विशेषगरी ‘खान्छौ कि खान्नौ बङ्गुरको मासु, लौ खाऊ न त सुँगुरको मासु’ भन्ने पंक्तिप्रति उनीहरूको आपत्ति थियो।
सहमति अनुसार उक्त विवादित अंश गीतबाट हटाइनेछ। सार्वजनिक विवरणअनुसार गीतको भिडियोमा रहेको ब्राह्मणले पूजा गर्ने क्रममा खाएको दृश्यलाई ब्लर गर्ने र शीर्षकमा समेत परिवर्तन गर्ने सहमति भएको छ।
सेन्चुरीकै शब्द, संगीत र स्वर रहेको गीत करिब एक महिनाअघि सार्वजनिक भएको हो। गीतमा गायिका दीपिका बयम्बु मगरको पनि स्वर रहेको छ भने गोधुली क्रियसन प्रालिले बजारमा ल्याएको हो।
साथै, दुवै पक्षबीच लिखित सहमति भएपछि गीतलाई लिएर उत्पन्न विवाद तत्कालका लागि टुंगिएको साइबर ब्युरोले जनाएको छ।
