नापी भएको ९ वर्षपछि १८६ परिवारको हातमा लालपुर्जा
धनुषा । नापजाँच सकिएको झन्डै नौ वर्षपछि धनुषाको बटेश्वरका १८६ परिवारले बल्ल आफ्नो जग्गाको लालपुर्जा पाएका छन्।
बटेश्वर गाउँपालिका–३ र ४, साविक बटेश्वर गाविसका वडा नं. १ देखि ९ सम्मका स्ववासी परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो।
२०७४ सालमै सम्बन्धित क्षेत्रको नापजाँच सम्पन्न भएको थियो। तर नापी सकिए पनि कानुनी र प्रशासनिक प्रक्रिया टुंगिन नसक्दा स्थानीयको हातमा लालपुर्जा पुग्न सकेको थिएन।
लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेपछि नापी कार्यालय धनुषाले अहिले १८६ थान जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो।
लालपुर्जा पाएसँगै वर्षौंदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारले आफ्नो जग्गामाथिको औपचारिक कानुनी स्वामित्व पाएका छन्।
जग्गाको स्वामित्व प्रमाणित भएपछि स्थानीयलाई आर्थिक कारोबारमा समेत सहज हुने भएको छ। आवश्यक परेको अवस्थामा जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सकिनेछ भने स्वामित्वसम्बन्धी विवाद समाधानमा पनि लालपुर्जाले आधार दिनेछ।
यसअघि धनुषाका ४ हजार ५ सय ५४ परिवारले स्ववासी जग्गाको लालपुर्जा प्राप्त गरिसकेको जनाइएको छ।
वर्षौंसम्म नापीको कागज बोकेर बसेका परिवारका लागि भने लालपुर्जा हात पर्नु केवल कागजको प्रमाण होइन, जग्गामाथिको कानुनी अधिकार औपचारिक रूपमा स्थापित भएको दिन बनेको छ।
