`

नेप्सेमा दोहोरो अंकको पहिरो

Nepal One HD १६ असोज २०८३ १५:४७
अर्थ समाचार

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा फेरि दबाब देखिएको छ। नेप्से परिसूचक ११.९० अंकले घटेर २ हजार ५८७.२५ विन्दुमा झरेको छ।

बजार ओरालो लागे पनि कारोबार रकम भने ४ अर्बभन्दा माथि रह्यो। नेप्सेका अनुसार शुक्रबार ४ अर्ब २९ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। दिनभर १ करोड १९ लाख १२ हजार कित्ता सेयर किनबेच भएका छन्।

समग्र बजारमा बिक्री चाप देखिँदा ११ वटा उपसमूहको सूचक घटेको छ। म्युचुअल फन्ड र ट्रेडिङ समूह भने सामान्य वृद्धिमा रहे।

शुक्रबार २०७ कम्पनीको सेयर मूल्य घट्दा ६१ कम्पनीको मूल्य मात्रै बढेको छ। यसले बजारमा बढ्नेभन्दा घट्ने कम्पनीको संख्या निकै बढी रहेको देखाएको छ।

कारोबारमा एनएमबी डिबेञ्चरका लगानीकर्ताले सबैभन्दा धेरै कमाए। उक्त डिबेञ्चरको मूल्य १४.२९ प्रतिशतले बढेको छ।

उता सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा ठूलो गिरावट बेहोरे। बैंकको सेयर मूल्य ८.५५ प्रतिशतले घटेको छ।

यससँगै साताको अन्तिम दिन बजार दोहोरो अंकले घटेर बन्द भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *