अब सुरक्षा निकायले पनि ग्यास बेच्ने
काठमाडौं । सरकारले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन सुरक्षा निकायका पेट्रोल पम्पबाट समेत ग्यास बिक्री गर्ने तयारी गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पेट्रोलियम बिक्री केन्द्रबाट एलपी ग्याससमेत वितरण गर्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिएका हुन्।
विकास, आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापन तथा अनुगमनसम्बन्धी कार्यक्रममा बोल्दै सचिव तामाङले ग्यास आपूर्तिमा असहज अवस्था आए सुरक्षा निकायका आउटलेट प्रयोग गर्न सकिने बताए।
‘अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका सुरक्षा निकायले पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दै आएका छन्,’ उनले भने, ‘उनीहरूका आउटलेटबाट ग्यास पनि वितरण गर्न सके आपूर्ति व्यवस्थापनमा धेरै सहज हुनेछ।’
तामाङका अनुसार पेट्रोल बिक्री गरिरहेका सुरक्षा निकायका आउटलेटमध्ये कम्तीमा एक दुई स्थानमा ग्यास बिक्रीको व्यवस्था मिलाउने तयारी छ।
उनले सम्भावित ग्यास अभावलाई ध्यानमा राखेर वैकल्पिक वितरण प्रणाली तयार पार्न लागिएको बताए। आपत्कालीन अवस्थामा बजारमा ग्यासको आपूर्ति प्रभावित भए सुरक्षा निकायका बिक्री केन्द्रबाट उपभोक्तालाई सेवा दिन सकिने मन्त्रालयको तयारी छ।
सचिव तामाङले नियमित आपूर्ति कायम राख्नसँगै भविष्यमा आउन सक्ने अभावको जोखिम न्यूनीकरण गर्न यस्तो व्यवस्था अघि बढाउन लागिएको स्पष्ट पारे।
