`

एउटा पीडा सेलाउन नपाउँदै अर्को घटना, पीडित ओझेलमा : क्रान्तिशिखा

Nepal One HD १६ असोज २०८३ १३:०६
राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले देशमा भइरहेका घटनाप्रति राज्य र समाजको चासो क्षणिक बन्दै गएको भन्दै प्रश्न उठाएकी छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एउटा घटनाको पीडा सेलाउन नपाउँदै अर्को घटना चर्चामा आउने र अघिल्लो विषय ओझेलमा पर्ने प्रवृत्तिले पीडितले न्याय पाउने विषय नै कमजोर बन्दै गएको बताइन्।

धितालले पछिल्ला विभिन्न घटनालाई जोड्दै राज्यले नागरिकको पीडालाई केही दिनको सहानुभूति र चर्चामा सीमित गर्न नहुने धारणा राखिन्।

उनका अनुसार नयाँ घटना सार्वजनिक भएपछि पुराना पीडा र पीडितका समस्या बिस्तारै सार्वजनिक बहसबाट हराउने गरेका छन्। यसले न्यायको निरन्तर खोजी र राज्यको जवाफदेहितामाथि नै प्रश्न उठाएको उनले बताइन्।

‘देशमा एउटा दुःख आउँछ, केही दिन हामी चासो दिन्छौँ। अर्को घटना सार्वजनिक हुनासाथ अघिल्लो पीडा बिस्तारै ओझेलमा पर्छ,’ उनले भनिन्।

उनले जेनजी आन्दोलन, मधेसका घटनादेखि विभिन्न आपराधिक घटना र रसुवाको बाढीसम्मका विषयमा केही समय व्यापक चासो देखिए पनि त्यसपछि पीडितका समस्या पुनः ओझेलमा पर्ने गरेको बताइन्।

विशेषगरी बाढीमा बेपत्ता भएका बालबालिकाको खोजी र सुकुमबासीका समस्याजस्ता विषय नयाँ घटनाको चापसँगै प्राथमिकताबाट हट्न नहुने उनको भनाइ थियो।

धितालले राज्यको भूमिका पीडितलाई तत्काल सहानुभूति दिनेमा मात्र सीमित हुन नहुने बताइन्। पीडितको जीवन सामान्य अवस्थामा नफर्किएसम्म राज्य निरन्तर साथमा उभिनुपर्ने उनले धारणा राखिन्।

‘राज्य अरूको दुःखमा टेको लगाउने मात्र होइन, आफैँ पीडितको टेको बन्नुपर्छ,’ उनले भनिन्।

उनले पीडितका समस्या समाधान गर्न तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना, न्याय र राज्यबाट पाउनुपर्ने सेवा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइन्।

धितालले राज्यको उपस्थिति औपचारिकता पूरा गर्ने खालको नभई पीडितको जीवनमा देखिने परिणाम ल्याउने गरी हुनुपर्ने माग गरिन्। प्रतिनिधिसभाको आधिकारिक विवरणमा पनि धिताल रास्वपाकी सांसदका रूपमा सूचीकृत छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *