`

बालेनले जलवायु मुद्दालाई भूराजनीतिक विषय बनाउन नहुने बताएका थिए : परराष्ट्रमन्त्री

Nepal One HD १६ असोज २०८३ १३:०१
बिशेष

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु परिवर्तनको मुद्दालाई भूराजनीतिक विषयका रूपमा लिन नहुने धारणा राखेको जानकारी संसद्लाई दिएका छन्।

प्रधानमन्त्रीको महासभा सहभागिताबारे प्रतिनिधिसभालाई जानकारी गराउँदै मन्त्री खनालले जलवायु संकटबाट प्रभावित मुलुकका समस्यालाई साझा विश्वव्यापी मुद्दाका रूपमा उठाउनुपर्ने धारणा प्रधानमन्त्रीले राखेको बताए।

उनका अनुसार प्रधानमन्त्री शाहले रसुवाको भोटेकोसी बाढीबाट भएको क्षति र त्यसपछि प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायबाट अनुदानमा आधारित सहयोग आवश्यक रहेको विषय पनि उठाएका थिए। नेपालले भोगिरहेको जलवायुजन्य विपद्का लागि सहज र पर्याप्त जलवायु वित्त तथा सहयोगको आवश्यकता महासभामा प्रस्तुत गरिएको थियो।

प्रधानमन्त्री शाह असोज ६ गते संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका गएका थिए। उनले असोज ८ गते महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गरेका थिए। सम्बोधनमा भोटेकोसी बाढी, जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको जोखिम र प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको विषय समेटिएको थियो।

परराष्ट्रमन्त्री खनालका अनुसार महासभाको क्रममा नेपालले जलवायु संकट, विपद्का कारण भएको क्षति र पुनर्निर्माणका लागि आवश्यक सहयोगबारे विभिन्न अन्तर्राष्ट्रिय पक्षसँग समेत छलफल गरेको थियो। महासभाकै क्रममा नेपालले ‘सगरमाथादेखि समुद्रसम्म’ शीर्षकमा जलवायु केन्द्रित उच्चस्तरीय कार्यक्रमसमेत आयोजना गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *