‘बजेट माग्ने मात्रै होइन, राज्यको ढुकुटी भर्ने नीति बनाऔँ’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले सांसदहरूको भूमिका आफ्नो निर्वाचन क्षेत्रमा बजेट र योजना माग्नेमै सीमित हुन नहुने बताएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सांसदहरूले देशको समग्र अर्थतन्त्र बलियो बनाउने र राज्यको आम्दानी बढाउने नीतिमा ध्यान दिनुपर्ने बताए।
निर्वाचन क्षेत्रमा विकासका लागि बजेट माग्नु स्वाभाविक भए पनि त्यससँगै राष्ट्रिय ढुकुटीको अवस्था र अर्थतन्त्रको दीर्घकालीन प्रभावबारे पनि सांसदहरू गम्भीर हुनुपर्ने उनको भनाइ थियो।
उनले राज्यको स्रोत निरन्तर खर्च गर्ने तर त्यसको आम्दानी बढाउनेतर्फ ध्यान नदिने प्रवृत्तिले भविष्यमा समस्या निम्त्याउन सक्ने बताए। ‘भकारी रित्तो राखेर अन्न मात्रै मागिरह्यौँ भने एक दिन भकारी नै रित्तिन्छ,’ भन्ने उदाहरण दिँदै उनले नीति निर्माण तहमा रहेकाहरूको प्राथमिकता राज्यको ढुकुटी बलियो बनाउनु हुनुपर्ने धारणा राखे।
लामिछानेले आगामी हिउँदे अधिवेशनलाई विधेयक पारित गर्ने नियमित प्रक्रियामा मात्र सीमित नगर्न सरकार र संसद्लाई आग्रह गरे।
उनका अनुसार आगामी अधिवेशनमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, लगानी आकर्षण र निर्यात विस्तारलाई केन्द्रमा राखेर ठोस आर्थिक नीति निर्माणमा बहस हुनुपर्छ।
‘हामी राज्यको ढुकुटीबाट माग्ने प्रतिनिधि मात्र होइनौँ, त्यो ढुकुटी भर्ने नीति बनाउने जिम्मेवार प्रतिनिधि पनि हौँ,’ उनले भने।
उनले निर्वाचन क्षेत्रमा एउटा योजना थपिँदा तत्काल केही मानिस लाभान्वित भए पनि अर्थतन्त्र बलियो बनाउने नीतिको प्रभाव भने देशभर र लामो समयसम्म पर्ने बताए।
अबको संसदीय प्राथमिकता राष्ट्रिय आम्दानी बढाउने, उत्पादन र रोजगारी विस्तार गर्ने तथा लगानीका लागि अनुकूल वातावरण बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा उनले जोड दिए।
